एउटा गाँउमा लोकरञ्जुन नाम गरेका एक अपढ तर चलाक ब्राम्हण थिए । उसको चलाकीबाट सबै गाउँलेका मनमा यी ब्राम्हण बहुतै विद्वान हुन भन्ने विश्वास परेको थियो । गाउँलेहरू कथा पुराण तिनै ब्राम्हणबाट सुन्थे ।
चतुर्मासका दिन गाउँमा देवीभागवतपुराण लागेको थियो । व्यासासनमा बसी ती ब्राम्हण जुँगा मुसारी मुसारीकन जे पनि हो भन्दै पत्याई सुन्ने गाउँलेहरूलाई हँसाई हँसाईकन “लाटाका देशमा गाँडा तन्नेरी” बनी जे मन लाग्यो त्यही सुनाई रहेका थिए । त्यसैबेलामा आचार्य पास गरी घर फर्कंदै गरेका एक जना विद्वान पण्डित त्यहाँ आइपुगे ।
पुराण लागेको देखी एकछिन म पनि सुनेर जान्छु भन्ने विचार गरेर उनी त्यहीं विश्राम गरी पुराण सुन्न थाले । लोकरञ्जन ब्राम्हणले सार्है अशुद्धसँग पुराण बाचेको सुनी ती पण्डितका मनमा यस्ता ढोंगी मूर्खलाई सजायँ दिनु पर्यो भन्ने लाग्यो ।
जब पुराण सकियो सबैले फूलप्रसाद लिए । ती विद्वान पण्डितले पनि फूलप्रसाद लिए ।त्यही बेलामा लोकरञ्जन ब्राम्हणले जुँगा मुसार्दा जुँगाको एउटा रौं खस्यो । विद्वान पण्डितले झटपट त्यस रौंलाई टिपेर आफ्नो धोतीको टुप्पामा पोको पारी बाँधे ।
त्यो देखेर कथा सुन्ने गाउँलेहरूले किन रौं पोको पारी बाँधेको भनी सोधे । त्यसपछि ती विद्वान पण्डितले भन्न थाले- “पुराणको अन्त्यमा कथा भन्ने पण्डितको जुँगा लिन सके भूत-प्रेत, वीर, गानो केही कुराले पनि सताउन सक्दैन । त्यसैले यो रौं लिएको हो ।”
यति के सुन्नु थियो, पुराण सुन्ने हरूले धुइरेर लोकरञ्जन ब्राम्हणको जुँगा एक-एक गरेर उखालेर लगे । लोकरञ्जन ब्राम्हणको जुँगाको एउटा रौं पनि बाँकी रहेन । त्यसपछि ती विद्वान पण्डित ढोंगी मूर्खले सजायँ पायो भनी आफ्नो बाटो लागे ।
जीवन उपयोगी केहि कुराहरु
जीवन जिउने दुई तरिका छन्, कि तपाईं सबै चिजलाई अत्यन्तै गंभीर रूपमा लिनुहुन्छ कि सबै चिजलाई सामान्य रूपमा लिनुहुन्छ । कसरी बाँच्ने हो तपाईंकै हातमा छ । गंभीर भएर बाँच्दा जिन्दगी दुःखपूर्ण हुन्छ । गंभीर मान्छेहरूका लागि सामान्य केही पनि छैन । दुर्घटना, असफलता, अवहेलना अनि जन्म र मृत्य मात्रै होइन, उसका लागि खेल पनि गंभीर छ । गीतसंगीत, हाँसोठट्टा, नाचगानसँगै समग्र दिनचर्या नै गंभीर छ ।
के रमाइला कृत्यलाई गंभीर रूपमा लिएपछि रमाउन संभव हुन्छ ? के गंभीर भएर आनन्दित हुनु संभव छ । गंभीर मानिसका लागि सबै कुरा गंभीर छन् । तर अगंभीर मानिसका लागि सबै कुरा सामान्य छन् । उसका लागि जन्म सामान्य छ, मृत्यु सामान्य छ ।
जिन्दगीका हरेक भोगाइहरू सामान्य छन् । शोकलाई पनि ख्यालख्यालमा लिए भने के पीडा संभव हुन्छ ? आँसुलाई सामान्य रूपमा लिएपछि रुनु पनि आनन्ददायी हुन्छ । कसरी बाँच्ने, छनोट हाम्रै हातमा छ । तर किन धेरैका लागि जिन्दगी गंभीर छ ? नचाहँदा नचहँदै कयौँका लागि जिन्दगी गंभीर छ । कष्टदायक छ ।
हामीले बाँच्ने कला हाम्रै अग्रजबाट सिक्यौँ । सिक्नु नराम्रो होइन तर कसबाट सिक्यौँ र के सिक्यौँ भन्ने सवाल अर्थपूर्ण छ । हामीलाई तिनीहरूले जिउने कला सिकाए, जो आफैँ हातास थिए । निराश थिए । दुःखी थिए । हामीले बाँच्ने कला उनीहरूबाट सिक्यौँ, जसले जिन्दगीमा खुसी भएर बाँच्नै जानेनन् । जसले जिन्दगीलाई केवल अन्धकारपूर्ण देखका छन् ।
बालककालका केही समयसम्म जिन्दगी हाम्रालागि पनि महोत्सव थियो । जबसम्म जिन्दगी जिउने सवालमा केही कुरा सिकेका थिएनौँ, जिन्दगी उत्सव थियो । होसपूर्ण भएर हेरौँ, बच्चाहरूका लागि जिन्दगी जादूमय छ, आनन्ददायक छ । तिनका पलपल हर्षोल्लासपूर्ण छ । जिन्दगीको त्याही भोगाइबाट हामी आजसम्म आइपुग्यौँ तर कुन्नि आनन्दित भएर जिउने कुन मन्त्रलाई हामीले बिर्सियौँ !
के कुरा थियो त्यो, जसले जिन्दगीलाई आन्नददायक बनाएको थियो । ठूला मानिस र बच्चामा के भिन्नता छ, होसपूर्ण भएर हेरौँ । आयु बढ्दै जाँदा हामीले के सिक्यौँ, जसले हामीलाई यति गंभीर बनाएको छ, जाँचौँ ।
बालकहरू खेल्छन् तर वयष्क मानिसहरू काम गर्छन् । जब हामी ठूला हुँदै आयौँ, हामीले खेल्न भुलेका छौँ । हाम्रालागि खेल्नु असहज भएको छ । किन हामी खेल्न सक्दैनौँ त ? हामी काम गर्दछौँ । दिनरात नभनी खटेका छौँ । किन काम गर्दा हामी सहज महसुस गर्दछौँ त ? खेल्नु र काम गर्नुबीचमा अवश्य केही मनोवैज्ञानिक भिन्नता छन् । खेलको कुनै उद्देश्य हुँदैन ।
खेल्दै गरेको बच्चालाई यदि हामीले किन खेल्दै छौँ भनेर सोध्यौँ भने त्यसको उत्तर आउँदैन । उसले भन्ने छ कि म खेल्दै छु, त्यसैले खेल्दै छु । खेलको परिणाम भविष्यमा होइन, तत्क्षण नै आउँछ । प्रवृत्तिगत रूपमा खेल समयविहीन छ । आनन्दको क्षण त्यही क्षण हो, जुन पलमा भूतको संझना र भविष्यको चिन्ता हुँदैन, केवल वर्तमानको हरेक पलमा हामी सम्पूर्ण रूपमा उपस्थित भएका हुन्छौँ ।
सम्पूर्ण रूपमा बाँचेका हुन्छौँ अनि महोत्सवको समय त्यही समय हो, जुन बेला कोही ठूलो र सानो हुँदैन । जब ठूलो र सानो हुँदैन, त्यहाँ अहं हुँदैन । मानसिकस्तरमा अहं नभएको संसारमा विभाजनका पर्खालहरू हुँदैनन् । सबै स्वत्रन्त्र हुन्छन् । त्यसैले खेलमा सबै स्वतन्त्र हुन्छन् । यसको विपरीत काम निश्चित प्रतिफलको आशामा गरिएको हुन्छ ।
प्रयोजनविहीन भएर बाँच्नु नै जीवनलाई खेल बनाउनु हो । काम गर्नु तर फलको आश नगर्नु नै खेल हो । जिउने कला हो । जब यो मन्त्रको बोध हुन्छ, तब खेल्नुको बोध हुन्छ । जब खेल्नुको कला आउँछ, तब जिन्दगी जिउनु पनि खेल हो ।
हामीले अब कसरी जिन्दगीलाई खेल्ने ? हाम्रो हातमा छ । अब भोगी भएर जिन्दगी खेल्ने हो वा सन्यासी भएर खेल्ने, हाम्रै हातमा छ । पैसा गनेर खेल्ने कि जोगी भएर खेल्ने, आफ्नै हातमा छ । समाजिक भएर खेल्ने कि विद्रोही भएर खेल्ने, आफ्नै हातमा छ । विद्रोही भएर खेल्दा जेलनेल हुन सक्छ, जेलनेल त अब खेलका नियम मात्र हुन् ।
अब जिन्दगीका सबै आयामहरू सामान्य लाग्छ। अब मृत्यु पनि खेल हो । हिन्दू शास्त्रले यो जगतलाई ईश्वरको लीला हो भनेका छन् । ईश्वर भनेको सर्वोत्तम ऊर्जाको रूप हो । लीलाको अर्थ केवल खेल हो। यो जगत केवल ऊर्जाको समुद्र हो । यहाँ जे हुन्छ, त्यो सबै ऊर्जाको खेल हो । ऊर्जा सर्वव्याप्त छ । ऊर्जाको सन्दर्भमा मितव्ययी हुनु जरुरी छैन । तर हामी ऊर्जालाई खर्च गर्ने सन्दर्भमा उपयोगिता खोज्दछौँ ।
ऊर्जा जसरी बग्छ, बगोस् । ऊर्जा जसरी रूपान्तरण हुन्छ, होस् । हामी ऊर्जा खर्च गर्ने सन्दर्भमा मितव्ययी भयौं भने हाम्रो शरीरमा ऊर्जाको आगमन पनि त्यही ढंगमा हुन्छ । अनि मितव्ययी भएनौ भने पनि ऊर्जाको आगमन त्यही ढंगमा हुन्छ । ईश्वरले लीला गर्छन् र लीला गर्ने नै ईश्वर हो भन्नुमा कुनै भेद छैन । त्यसैले जसले लीला गर्छ, अर्थात् जसले जिन्दगीलाई खेल सम्झन्छ, ऊ र दैवी शक्ति अर्थात् सर्वोत्तम ऊर्जा एकाकार हुन्छन् । त्यसैले त खेल्दै गरेको बच्चाका आँखामा दैवी चमक हुन्छ । अनुहारमा दैवी चमत्कार हुन्छ।



