अ+
अ
अ-
काठमाडौँ,१६ माघ । कुमाल समुदायको पुर्खौली संस्कृति मारुनी नाच समुदायबाटै लोप हुन थालेको छ । युवापुस्ताले संस्कृति संरक्षणमा ध्यान नदिँदा समुदायमा प्रख्यात मारुनी नाच लोपोन्मुख अवस्थामा पुगेको हो ।

रोजगारीको सिलसिलामा युवापुस्ता विदेशन पलायन हुँदा गाउँमा बसेर युवापुस्ताले संस्कृति सिक्ने अवसर पाएका छैनन् । अझै पनि फाट्टफुट्ट केही ठाउँमा पाकापुस्ताकै भरमा मारुनी नाच देखाउने गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–३ भलायटारका मारुनी नाचका गुरु ७७ वर्षीय कुशलाल कुमाल संस्कृति धान्नकै लागि अझै पनि मारुनी नाच देखाउने कार्यमा सरिक हुनुहुन्छ । “सँगै मारुनी गाउने नाच्ने साथी मरेर गए, अहिले म मात्रै एक्लैजस्तो भएको छु, तैपनि जसोतसो संस्कृतिलाई बचाउन लागिपरेको छु”, उहाँले भन्नुभयो ।


