बलियो जर्मनीलाई मेक्सिकोको चुनौती

अ+
अ
अ-

खेल आज ८:४५ बजे

साबिक विश्व च्याम्पियन जर्मनी आइतबार मेक्सिकोविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गर्दै छ । जर्मनीलाई आफ्नो साबिक विजेताको छवि कायमै गर्न पनि जित निकाल्नुपर्नेछ । बलियो इतिहास बोकेको जर्मनीले विश्वकपअघिका मैत्रीपूर्ण खेलमा त्यति ठूलो प्रभाव नपारेकाले मेक्सिकोले चुनौती दिन सक्ने आँकलन गरिएको छ ।

मेक्सिकोसँग अपराजित जर्मनी
जर्मनी मेक्सिकोसँग विश्वकपमा अहिलेसम्म पराजित भएको छैन । जर्मनी र मेक्सिकोले सबै खाले प्रतियोगितामा खेलेका ११ भिडन्तमा एकपटक मात्र मेक्सिकोले जर्मनीलाई हराएको छ । पछिल्लोपटक यी दुई टिमबीचको भेट गत समरमा कन्फिडरेसन कपका दौरान भएको थियो । जहाँ जर्मनीले ४–१ ले जितेको थियो ।

जर्मनीले पछिल्ला ६८ खेलमा ५ खेलमा मात्र पराजय बेहोरेको छ । जर्मनीले विश्वकप प्रवेशका लागि भएको छनोटमा १० खेलमा १० वटामा नै जित हासिल गरेको थियो । जर्मनीले १९८२ मा अल्जेरियासँग पराजित भए यता विश्वकपको उद्घाटन खेलमा पराजित हुनु परेको छैन । त्यस्तै, मेक्सिकोले पनि १९९४ मा नर्वेसँग उद्घाटन खेलमा पराजित भए यता अपराजित रहेको छ ।

सहज खेल्छौँ : लो
जर्मनीका प्रशिक्षक जोचिम लोले मेक्सिकोविरुद्धको उद्घाटन खेलमा जर्मनी कुनै पनि दबाबमा नहुने बताएका छन् । उनले जर्मनीले जुनसुकै टिम भए पनि आफ्नो नियमित खेल खेल्ने भएकाले उद्घाटनमा कुनै समस्या नभएको बताए ।

त्यस्तै, मेक्सिकोका प्रशिक्षक जुवान ओसोरियाले विश्वकपको उद्घाटनमा जर्मनीविरुद्धको खेललाई लिएर मेक्सिकोले कुनै नयाँ र खास योजना नबनाएको बताए । उनले मेक्सिको उद्घाटन खेलका लागि सबै कुरामा तयार भएकाले जर्मनी राम्रो टिम भए पनि मेक्सिकोले हराउन सक्ने तागत राख्ने बताए ।