राष्ट्र बैंकद्वारा प्रदेश प्रोफाइल तयार
मुलुकका ७ वटा प्रदेशमध्ये आर्थिक तथा सामाजिक रूपमा प्रदेश ३ सबैभन्दा बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको ‘प्रदेश प्रोफाइल’का अनुसार प्रदेश ३ जनसांख्यिक, आर्थिक, सामाजिक तथा वित्तीय स्थितिमा सबैभन्दा बलियो देखिएको हो ।
राष्ट्र बैंकले प्रदेशगत रूपमा दिगो एवं समावेशी विकासको रणनीति तय गर्न ७ वटै प्रदेशको प्रोफाइल तयार गरेको छ । सो प्रोफाइलले प्रदेश ३ लाई बलियो तथा कर्णाली र प्रदेश २ लाई कमजोर देखाएको छ ।
सहरी विकास, जनसंख्या, कुल गार्हस्थ उत्पादनको अंश, उद्योग र रोजगारी, जलविद्युत् उत्पादन तथा सम्भावना, सडक पूर्वाधार, वित्तीय संस्थाको उपस्थितिलगायत आधिकांश आर्थिक तथा वित्तीय सूचकमा प्रदेश ३ अगाडि देखिएको हो । त्यस्तै, साक्षरता दर, न्यून मानव गरिबी, मानव विकास सूचकांक, आधारभूत सुविधाको स्थितिमा पनि प्रदेश ३ अगाडि देखिएको छ । अधिकांश आर्थिक तथा सामाजिक सूचकांकमा प्रदेश ३ पछि प्रदेश १, प्रदेश ४ र प्रदेश ५ देखिएका छन् । प्रदेश ७, प्रदेश २ र कर्णाली प्रदेशका सूचकांक भने कमजोर देखिएका छन् ।
कुन क्षेत्रमा कुन प्रदेश बलियो
कुल गार्हस्थ उत्पादन : प्रदेश ३ को आर्थिक हैसियत अन्य प्रदेशको भन्दा अब्बल देखिन्छ । प्रदेश ३ ले कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ३१.९ प्रतिशत हिस्सा ओगटेको छ । जिडिपीमा सबैभन्दा कम अर्थात् ४.१ प्रतिशत हिस्सा कर्णाली प्रदेशले ओगटेको छ । जिडिपीमा प्रदेश १ को १७.५ प्रतिशत, २ को १६.२ प्रतिशत, ४ को १०.५ प्रतिशत, ५ को १३.४ प्रतिशत र ७ को ६.३ प्रतिशत हिस्सा रहेको छ ।
कृषि उत्पादन : कृषि उत्पादनमा सबैभन्दा बलियो प्रदेश १ देखिएको छ । समग्र कृषि क्षेत्रमा प्रदेश १ को अंश २१.५ प्रतशित रहेको छ । कृषि उत्पादनमा सबैभन्दा कम अंश कर्णालीको ६.० प्रतिशत छ । कृषिमा प्रदेश२ को १८ प्रतिशत, प्रदेश ३ को १६ प्रतिशत, प्रदेश ४ को ११.८ प्रतिशत, प्रदेश ५ को १६.९ प्रतिशत र प्रदेश ७ को ८.९ प्रतिशत हिस्सा रहेको छ ।
उद्योग क्षेत्र : उद्योगमा सबैभन्दा अघि प्रदेश ३ छ । प्रदेश ३ मा सबैभन्दा बढी ९ सय ६५ वटा उद्योग छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ४४ वटा छन् । त्यस्तै, प्रदेश १ मा ७ सय ३७, प्रदेश २ मा ८ सय १२, प्रदेश ४ मा ४ सय ६०, प्रदेश ५ मा ८ सय २७ र प्रदेश ७ मा २ सय ३१ वटा उद्योग छन् ।
जलविद्युत् उत्पादन : जलविद्युत्मा पनि सबैभन्दा अघि प्रदेश ३ नै देखिएको छ । सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी अर्थात् ४ सय ७९.१ मेगावाट प्रदेश ४ मा छ । प्रदेश ३ मा ३ सय ४०.३ मेगावाट छ । निर्माणाधीन आयोजनाको क्षमतामा सबैभन्दा बढी प्रदेश ३ को २ हजार ३ सय २६.६ मेगावाट रहेको छ । प्रदेश २ मा विद्युत् उत्पादन शून्य रहेको छ । निर्माणाधीन आयोजना पनि शून्य नै छ । त्यस्तै, कर्णालीमा ३.८ मेगावाट उत्पादन भइरहेको र निर्माणाधीन आयोजनाको क्षमता ३९.७ मेगावाट छ ।
बैंक तथा वित्तीय संस्था : बैंक तथा वित्तीय संस्थाको उपस्थिति पनि प्रदेश३ मै बढी छ । सबैभन्दा बढी शाखा १ हजार २ सय ६३ वटा अर्थात् ३४.५ प्रतिशत अंश प्रदेश ३ मा छ । सबैभन्दा कम शाखा भने कर्णाली प्रदेशमा १ सय १३ वटा अर्थात् ३.१ प्रतिशत छ । कुल निक्षेप संकलनमा प्रदेश ३ को हिस्सा ७२ प्रतिशत र कर्णाली प्रदेशको १ प्रतिशत रहेको छ । त्यस्तै, कुल कर्जा प्रवाहमा प्रदेश ३ को हिस्सा ५७ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा १ प्रतिशत रहेको छ ।
सहकारी क्षेत्र : सबैभन्दा बढी ११ हजार ५ सय ७७ वटा सहकारी प्रदेश ३ मा छन् । सबैभन्दा कम भने कर्णाली प्रदेशमा २ हजार १ सय २२ वटा छन् । सहकारीमा सबैभन्दा बढी बचत प्रदेश ३ बाट १९ अर्ब ९५ करोड रुपैयाँ र सबैभन्दा कम कर्णाली प्रदेशबाट २७ करोड रुपैयाँ छ । त्यस्तै, सहकारीको सबैभन्दा बढी लगानी प्रदेश ३ मा १५ अर्ब ३२ करोड र कर्णाली प्रदेशमा सबैभन्दा कम ३७ करोड रुपैयाँ भएको छ ।
स्वास्थ्य र शिक्षा :प्रदेश १, २, ३ र ४ मा औसत आयु राष्ट्रिय औसत ६८.८ भन्दा उच्च छ भने अन्य प्रदेशमा कम छ । प्रदेश २ को औसत आयु सबैभन्दा बढी ७०.४ वर्ष र कर्णाली प्रदेशको औसत आयु सबैभन्दा कम ६६.८ वर्ष छ । सबैभन्दा बढी साक्षरता प्रदेश ३ मा ६९.३ प्रतिशत र सबैभन्दा कम साक्षरतादर प्रदेश २ मा ४०.९ प्रतिशत छ । मानव विकास सूचकांकमा सबैभन्दा राम्रो प्रदेश ३ को ०.५४३ छ भने सबैभन्दा कम कर्णाली प्रदेशको ०.४२७ छ ।
आधारभूत सुविधा: प्रदेश १, २, ४ र ५ मा खानेपानीको सुविधा राष्ट्रिय औसत ८५.९ प्रतिशतभन्दा उच्च छ भने अन्य प्रदेशमा राष्ट्रिय औसतभन्दा कम छ । प्रदेश २ मा सबैभन्दा बढी ९३.८ घरधुरी र कर्णाली प्रदेशमा सबैभन्दा कम ६४.५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको छ । त्यस्तै, विद्युत् सुविधाको उपलब्धतालाई हेर्दा कर्णाली प्रदेशमा राष्ट्रिय औसत ६७.७ प्रतिशतको तुलनामा अत्यन्त न्यून अर्थात् २१.७ प्रतशित मात्रै छ । प्रदेश ७ मा केवल ४८.४ प्रतिशत घरधुरीमा मात्रै बिजुली सुविधा छ । प्रदेश ३ र ४ मा मात्रै राष्ट्रिय औसतभन्दा बढी प्रतिशत घरधुरीमा विद्युत् सुविधा छ ।
गरिबी, आय र मानव विकास : प्रदेश २, ५, ७ र कर्णाली प्रदेशमा गरिबी राष्ट्रिय औसत २५.२ प्रतिशतभन्दा उच्च छ भने अन्य प्रदेशमा कम छ । प्रदेश ७ मा गरिबीको दर सबैभन्दा उच्च ४२ प्रतिशत छ । प्रदेश ४ मा गरिबीको दर सबैभन्दा न्यून १५.२ प्रतिशत छ । संख्यागत रूपमा सबैभन्दा बढी प्रदेश २ मा बढी गरिबी छ । बहु–आयामिक गरिबीको दरलाई हेर्दा कर्णाली प्रदेश र प्रदेश २ मा सबैभन्दा बढी गरिबी रहेको देखिन्छ । बहुआयामिक गरिबीको दरमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ५१.२ प्रतिशत र सबैभन्दा कम प्रदेश ३ मा १२.२ प्रतिशत छ ।
राजस्व तथा खर्च : आर्थिक वर्ष ०६८/६९ सम्मको कुल राजस्व संकलन र सरकारी खर्चलाई हेर्दा सबैभन्दा बढी राजस्व अर्थात् कुल राजस्वमा ५० प्रतिशत हिस्सा प्रदेश ३ ले ओगटेको छ । कुल खर्चमा पनि प्रदेश ३ को अंश ५०.९ प्रतिशत छ । कुल राजस्वमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ०.२ प्रतिशत र कुल खर्चमा पनि सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशकै ५.८ प्रतिशत छ ।
अवस्था हेरेर नीति निर्माण हुनेछ
राष्ट्र बैंकले प्रदेशगत रूपमा दिगो एवं समावेशी विकासको रणनीति तय गर्ने कार्यमा दिशानिर्देश गर्न प्रादेशिक प्रोफाइल तयार पारेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘राज्यशक्तिको बाँडफाँडलाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रदेशको सामाजिक एवं आर्थिक अवस्थाबारे यकिन भई निर्णय लिनुपर्ने हुन्छ,’ उनले भने, ‘संविधानले व्यवस्था गरेको वित्त हस्तान्तरणको सिद्धान्तलाईसमेत सघाउ पु-याउने गरी प्रदेशको आर्थिक तथा सामाजिक प्रोफाइल बनाइएको हो ।’


