एजेन्सी । विश्वकपको अन्तिम तयारीमा रहेको स्पेनले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । स्पेनले विश्वकप खेल्ने अर्को राष्ट्र ट्युनिसियालाई १–० गोलको संघर्षपूर्ण जित निकालेको हो । शनिबार राति रसियाको क्रास्नोडरमा भएको खेलमा स्पेनले कठिन जित निकालेको हो । स्पेनको जितमा लागो अस्पास नायक बने ।
पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । गोल गर्ने अवसर दुबै टोलीले पाएपनि त्यसको सदुपयोग पहिलो हाफमा हुन सकेन । स्पेनको जितमा खेलको ८४ औं मिनेटमा अस्पासले गोल गरे । खेलको ७६ औं मिनेटमा जोर्डी अल्बाको स्थानमा मैदानमा छिरेका अस्पासले डिएगो कोष्टाको पासमा लेफ्ट फुटेड सट प्रहार गर्दै गोल गरेका हुन् ।
विश्वकपमा स्पेन समूह बी मा रहेको छ भने ट्युनिसिया समूह जी मा रहेको छ । समूह बी मा स्पेनसँगै पोर्चुगल, मोरक्को र इरान रहेका छन् । त्यस्तै, समूह जी मा ट्युनिसियासँगै बेल्जियम, इंग्ल्याण्ड र पानामा रहेका छन् ।


