संविधान कार्यान्वयनका दस वर्ष : उपलब्धि, अवसर र चुनौतीमाथि राष्ट्रिय समीक्षा

अ+
अ
अ-

काठमाडौं । नेपालको संविधान जारी भएको एक दशक पूरा भएको सन्दर्भमा संविधान कार्यान्वयनको अवस्था, उपलब्धि, अवसर र चुनौतीबारे राष्ट्रिय समीक्षा गोष्ठी सम्पन्न भएको छ।

मानव अधिकार संरक्षण मञ्च (मासम) नेपाल, टंकप्रसाद आचार्य प्रतिष्ठान र अनौपचारिक सेवा केन्द्र (इन्सेक) नेपालको संयुक्त आयोजनामा गत कार्तिक १५ गते ललितपुरस्थित यालमाया केन्द्र, पाटनढोकामा गोष्ठी सम्पन्न भएको हो।

मासम नेपालका संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडाको प्रमुख आतिथ्यता तथा संस्थापक अभियन्ता सुशील प्याकुरेलको सभापतित्वमा सम्पन्न गोष्ठीमा संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै यसका उपलब्धि, सम्भावना र विद्यमान चुनौतीबारे विभिन्न क्षेत्रका विज्ञ तथा अधिकारकर्मीहरूले धारणा राखेका थिए।

गोष्ठीमा पूर्वमन्त्री भगवती न्यौपाने, राष्ट्रिय सभा विधायन समितिका पूर्वसभापति तुलसा दाहाल र संविधानविद् वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेका थिए। उनीहरूले संवैधानिक व्यवस्था, यसको व्यावहारिक कार्यान्वयन तथा देखिएका चुनौतीका विविध पक्षमाथि विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा मासम नेपालका महासचिव डा. श्रीकान्त खतिवडाले संस्थाका तर्फबाट अवधारणापत्र प्रस्तुत गरेका थिए भने अध्यक्ष गणेश बी.क.ले समीक्षात्मक मन्तव्य राखेका थिए।

गोष्ठीमा मासमका पूर्वमहासचिव रामप्रसाद श्रेष्ठ, सहप्राध्यापक कल्पना लुइँटेल, मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील विदुर सुवेदी, अधिकारकर्मी शिव आचार्य, त्रिलोत्तम पौडेल र बद्री चौलागाईंले प्रस्तुत विषयमाथि आ–आफ्ना धारणा राखेका थिए।

नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी, कानुन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित ४४ जनाको सहभागिता रहेको कार्यक्रममा पूर्वराजदूत सुम्निमा तुलाधर, नेपाल बौद्ध परिषद्का महासचिव दीपेन्द्र श्रेष्ठ, परिकल्पना नेपालका महासचिव रुपेन्द्र महर्जन तथा नेपाल प्रगतिशील प्राध्यापक संगठनकी सदस्य इन्द्रकला बराललगायतको उपस्थिति थियो।

कार्यक्रममा इन्सेकका कृष्ण गौतमले स्वागत मन्तव्य राखेका थिए। संविधान जारी भएको दस वर्षको अवधिमा प्राप्त उपलब्धिको समीक्षा गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि देखिएका कानुनी, संस्थागत तथा व्यावहारिक चुनौती पहिचान गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको थियो। कार्यक्रममा सहभागीहरूले संविधानका मूल मर्म, लोकतान्त्रिक मूल्य, मानवअधिकार, सामाजिक न्याय र नागरिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका सवालमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

आयोजक संस्थाहरूले गोष्ठीमा उपस्थित भई सक्रिय सहभागिता जनाउने सम्पूर्ण अतिथि, विज्ञ, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।