लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

अ+
अ
अ-

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज आयोजित ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्नुहुँदै सभापति थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारलाई सम्मान गर्दै सुशासन कायम गर्न सकिने बताउनुभएको हो ।

“सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व हो, कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ, लोकतन्त्र, नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको विषयमा सरकारले ध्यान दिनुपर्छ, हामी सरकारलाई जवाफदेही बनाउन तथा लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं”, सभापति थापाले भन्नुभयो ।

सभापति थापाले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सञ्चारगृहमा प्रहरी प्रवेश हुनु सकारात्मक नभएको धारणा राख्नुभयो । सञ्चारमाध्यममा प्रहरी परिचालन र पत्रकार पक्राउको घटनाले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको भन्दै उहाँले त्यसमा प्रहरीका तर्फबाट आएका फरकफरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले झन अन्योल सिर्जना गरेको बताउनुभयो ।

सभापति थापाले घटनालाई सामान्य वक्तव्य जारी गरेर टुङ्ग्याउन नहुने भन्दै त्यसको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्ने भन्दै राज्य सञ्चालनमा व्यक्तिगत इच्छा र आदेशलाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुने बताउनुभयो । कानुनी शासनमा राज्यका सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उहाँले शक्तिको स्वेच्छाचारी प्रयोग स्वीकार्य नहुने बताउनुभयो ।

“सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्छ, सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हो भन्ने सोच लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था होइनन्”, सभापति थापाले भन्नुभयो । उहाँले सरकारको कामकारबाहीमा कानुनी प्रक्रिया, संस्थागत मर्यादा र नागरिक अधिकारको सम्मान अनिवार्य हुनुपर्ने बताउनुभयो ।

कानुनी शासनमा कसैले पनि कानुनभन्दा माथि रहेर काम गर्न नपाउने उल्लेख गर्दै सभापति थापाले सरकारका हरेक गतिविधि विधि र प्रक्रियासम्मत हुनुपर्नेमा जोड दिनुभयो ।