चितवन । यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको फूलमा पानीका कारण क्षति पुगेको हो ।
भरतपुर महानगरपालिका–२६ का दीपक पाख्रिन आफूले लगाएको फूलखेतीमा हाल फुलेको ७० प्रतिशत फूल नोक्सान भएको बताउनुहुन्छ । बजारमा पठाउन नपाउँदै पानी पर्दा फूलको हाँगा भाँचिने र चिसो फूल टिपेर पठाउँदा कालो हुने समस्या आएको उहाँले बताउनुभयो । उहाँले अहिले दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको छ । एक बिघा क्षेत्रफलमा फूलखेती गर्न रु एक लाख ५० हजारभन्दा बढी खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोआजदेखि फूल टिपेर माला बनाएर स्टोरमा राख्ने भन्ने योजना भए पनि पानीका कारण सम्भव भएन ।” दसैँपछि टिपेर बजार पठाउनुपर्नेमा माग नभएपछि पठाइएको थिएन ।
जिल्ला कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार तीन दिन परेको वर्षाका कारण फक्रिएर बजारमा जान नपाएका फूलहरुमा क्षति पुगेको हो । उहाँका अनुसार जिल्लामा लगाइएको फूलमध्ये ६० देखि ७० प्रतिशत फूल फक्रिएको थियो । फक्रिएको फूलमध्ये ५० प्रतिशतभन्दा बढीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । कोपिला लागेका फूलमा भने क्षति नभएको उहाँको भनाइ छ ।
उहाँका अनुसार यस वर्ष जिल्लामा ४४ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । सो क्षेत्रफलमा प्रतिहेक्टर एक हजार किलो फूल उत्पादन हुने अनुमान गरिएको छ । अनुमान गरेअनुसारको उत्पादनले जिल्लाको माग मात्रै नभई छिमेकी जिल्लामा पुग्ने देखिन्थ्यो । फक्रिएको फूलमा क्षति पुगेपछि अहिले बजारमा फूलको मूल्य बढ्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “बजारमा फूलको मूल्य गत वर्षको तुलनामा यस वर्ष बढ्ने देखिन्छ ।”
व्यावसायिक रुपमा फूलखेती गरेका कृषक बर्सातका कारण मारमा परेका छन् । फक्रिएको फूल कालो भएपछि बजारमा लैजान लायक नहुने उहाँले बताउनुभयो । फूलखेतीका लागि यो वर्ष मौसमले साथ नदिएको उहाँको भनाइ छ । व्यावसायिक रुपमा जिल्लामा गत वर्षको तुलनामा यस वष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ । गत वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकोमा यस वर्ष ४४ हेक्टर क्षेत्रफलमा गरिएको छ ।
उहाँका अनुसार यस वर्ष सयपत्री फूलखेतीका लागि टिनिस १, थाई टिनिस, टिनिस २, सुमति र कर्मा ५५५ जातका फूलका बिरुवा रोपिएको छ । गत वर्ष जिल्लामा लगाइएको सयपत्री फूलखेतीबाट १३१ दशमलव चार मेट्रिक टन फूल उत्पादन भएको थियो । जिल्लाका सातै पालिकामा व्यावसायिक रुपमा चाडपर्व लक्षित फूलखेती गरिँदै आएको छ । यहाँका पालिकामध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिमा सयपत्रीखेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।


