काठमाडौँ नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को मिति नजिकिँदै गर्दा आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा रहेको र सरोकारवाला निकायबीचको छलफललाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ ।
मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँचका लागि कूटनीतिक पहललाई बलियो बनाउने गरी आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो ।
“दसैँको समयमा पनि हामी खाली नबसी नेपालको स्थितिपत्रको मस्यौदा तयार भई सरोकारवालाको सुझाव संकलन गरिरहेका छौँ । कसरी नेपालको स्थितिपत्रलाई कसिलो बनाउन सकिन्छ भनेर लागिरहेका छौं,” उहाँले भन्नुभयो, “हामीले अहिले आन्तरिक तयारीमा कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेका छाँै । नेपालको स्थितिपत्र अर्को साता सार्वजनिक गर्ने तयारी छ ।”
सहसचिव डा ढकालका अनुसार नेपालले अन्तरराष्ट्रिय जलवायु बित्तमा सहज पहुँच स्थापित गर्न आवश्यक तयारी र प्रक्रियाको सम्बन्धमा सरोकारवाला निकायबाट सुझाव आइरहेको जानकारी दिनुभयो ।
बलियो राजनीतिक प्रतिनिधित्व आवश्यक
उहाँले कोप–३१ मा नेपालको प्राथमिकता प्रभावकारी रूपमा प्रस्तुत गर्न उच्चस्तरीय राजनीतिक प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले प्राविधिक वार्तासँगै मन्त्रीस्तरीय सहभागिताले नेपालको आवाजलाई थप बलियो बनाउन सक्ने बताउनुभयो ।
“सम्मेलनको पहिलो साता प्राविधिक तथा विषयगत वार्ता हुन्छ भने दोस्रो साता प्रायः मन्त्रीस्तरीय बैठकमार्फत प्राविधिक टोलीले तयार पारेका दस्तावेजलाई अनुमोदन गर्ने प्रक्रिया अघि बढ्छ,” सहसचिव डा ढकालले भन्नुभयो, “दोस्रो सातामा जलवायु वित्त, अनुकूलनलगायत विभिन्न विषयमा मन्त्रीस्तरीय बैठक हुने भएकाले ती बैठकमा नेपालको राजनीतिक नेतृत्वको सहभागिता महत्त्वपूर्ण हुन्छ । कर्मचारी र प्राविधिकहरू जति नै विज्ञ भएपनि राजनीतिक तहबाट विषय उठाउँदा त्यसको सुनुवाई बलियो र फराकिलो हुन्छ भन्ने कुरा हामीले महसुस गर्नुपर्छ ।”


