‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’

अ+
अ
अ-

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अन्तरराष्ट्रिय ब्राण्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा दिएको होटल सञ्चालन गर्दै आएको आइएमई हस्पिटालिटीले जनाएको छ ।

हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट, बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ । कैलालीमा सुरुमा २० कोठा र पछि ६५ कोठा थप गर्ने गरी इला लज सञ्चालनमा आउन लागेको छ भने पाल्पाको वसन्तपुरमा १२० कोठाको इला रिसोर्ट सञ्चालनमा ल्याइँदै छ ।

पोखरामा ३५ कोठाको द लेक साइड रिट्रिट सञ्चालनमा छ भने इला होटल लाजिम्पाट एक सय कोठाको सञ्चालनमा आउने तयारीमा छ । आइएमई समूहको चन्द्रागिरि हिल्स रिसोर्ट भने १२० कोठासहितको छ र लामो समयदेखि सञ्चालनमै रहेको छ ।

नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा सोमबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा कामको अनुभव लिएका ३० प्रतिशतभन्दा बढी कर्मचारी आफूहरुसँग रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्तरराष्ट्रियस्तरको सेवा हामी सर्वसुलभ रुपमा दिएका छौँ ।” नेपालमा अन्तरराष्ट्रिय ब्राण्डले लिने शुल्कभन्दा आधा मूल्यमा सोभन्दा राम्रो सेवा आफूहरुले दिएको उहाँको भनाइ छ ।

हस्पटालिटीले आफ्नै प्राविधिक तालिम केन्द्र ‘काठमाडौँ टेक्निकल स्कूल’ सञ्चालन गरेर तालिमप्राप्त कुक, वेटर, हाउसकिपिङ उत्पादन गर्दै आएको छ । उनीहरुले ती होटलहरुमा काम गर्दै आएका छन् । अध्यक्ष ढकालले भन्नुभयो, “दक्ष जनशक्तिकै कारण हाम्रा होटलहरु अन्तरराष्ट्रियस्तरका अन्य ब्राण्डसँग प्रतिस्पर्धी बन्न सकेका छन् ।”

उच्च गुणस्तर र कम शुल्कमा सेवा दिन सकिएको उहाँको भनाइ छ । अधिकांश होटलहरु पर्यटकीय गन्तव्यहरुमा छन् । सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरका पर्यटकीय पूर्वाधार तथा चेन होटल विकास गर्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि हालको भन्दा दोब्बर बनाउन सकिने सोचका साथ केवलकारसँगै होटलहरु सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष ढकालले चन्द्रागिरिमा केबलकार, रिसोर्ट, थिमपार्कलगायतका पर्यटकीय पूर्वाधार निर्माणबाट प्राप्त अनुभवले सातै प्रदेशमा यस्ता परियोजना विस्तार गर्न प्रेरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रागिरिजस्तै पर्यटकीय पूर्वाधार कम्तीमा सातै प्रदेशमा बनाउन सकियो भने नेपाल आउने पर्यटकको बसाइ अवधि ठ्याक्कै दोब्बर बनाउन सकिन्छ भन्ने हाम्रो सोचाइ हो ।”