परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ”,सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

अ+
अ
अ-

बझाङ। घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो ।

घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौँ पुग्नुहुन्छ । सहरका भान्सामा हिमालका भेडाच्याङ्ग्राको मासु पाकिरहँदा आफ्नै घरमा आमाको हातबाट टीका थाप्न र परिवारसँगै बसेर दसैँ मनाउनबाट वञ्चित हुनुपर्छ ।

घुरनसहितका व्यापारीको श्रमले सहरको चाडलाई स्वाद दिन्छ, तर त्यही व्यापारले आफ्नै चाडको खुसी खोसिदिन्छ । साइपाल गाउँपालिका–१ धलौनका घुरनबहादुरले दसैँमा आमाको हातबाट टीका नथापेको १५ वर्षभन्दा बढी भइसक्यो ।

भेडाच्याङ्ग्राको व्यापार उहाँका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत हो । त्यसैले चाडपर्वमा घर फर्किने रहर भएर पनि व्यापारको जिम्मेवारीले बजारतर्फ डोहोर्याउँछ । आमाको आशीर्वाद फोनबाटै लिनुपर्छ । सन्तानलाई शुभकामना पनि फोनबाटै दिनुपर्छ । “घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दसैँ आएजस्तो नै लाग्दैन । परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती भन्छन्”, घुरन सुनाउनुहुन्छ ।

साइपाल गाउँपालिका–२ धलौनका उज्ज्वल बोहराको अनुभव पनि उस्तै छ । उहाँले पनि डेढ दशकदेखि दसैँ–तिहार परिवारसँग बसेर मनाउन पाउनुभएको छैन । दसैँ बाटोमै बित्छ, तिहार सहरकै व्यस्ततामा सकिन्छ । “वर्षभरिको आम्दानी हुने चाडवाडको बेला दसैँ सम्झेर घरमै बस्न सकिँदैन । परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ”, उज्ज्वल भन्नुहुन्छ ।

घुरन, उज्ज्वल, राजेन्द्र, सुरेन्द्रजस्ता व्यापारी तथा सहयोगी साइपालमा सय जनाभन्दा बढी छन् । साइपालबाट भेडाच्याङ्ग्रा लिएर पोखरा र काठमाडौँ जानेको सङ्ख्या डेढ सयभन्दा बढी हुन्छ । ट्रक चालकहरू बजार पुगेको भोलिपल्टै फर्किए पनि भेडा च्याङ्ग्राका साहु र सहयोगीलाई बिक्री गर्न समय लाग्छ । उहाँहरूको दसैँ–तिहार बाटोमै सकिन्छ ।

“बीचमा कसैले टीका लगाइदिएमा कानमा जमरा सिउरिएर पर्व मनाएको अनुभूति गर्न पाइन्छ”, साइपाल–१ का रमेश धामीले भन्नुभयो, “नत्र निधारमा टीका र कानमा जमरा नलगाई चाड बित्छ । परिवारसँगको भेटघाट र सामूहिक खुसी व्यापारको व्यस्तताले टाढा पुर्याउँछ ।”