नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्मपन्न भएको छ। यो मतदान केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्रै थिएन्।यसले आगामी कांग्रेसको चरित्र, दिशा र राजनीतिक संस्कारसमेत निर्धारण गर्नेछ। त्यसैले प्रतिनिधिले मतपत्रमा छाप लगाउनुअघि एउटा गम्भीर प्रश्न आफैँलाई सोध्नुपर्ने बेला आएको थियो । हामी कस्तो कांग्रेस र कस्ता नेता रोज्दैछौँ ?
लोकतन्त्रमा मताधिकार केवल अधिकार होइन, जिम्मेवारी पनि हो। मतपत्रमा परेको एउटा मतले व्यक्तिलाई जिताउन सक्छ, तर त्यही मतले पार्टीको भविष्य र मुलुकको राजनीतिक दिशालाई समेत प्रभावित गर्न सक्छ। त्यसैले अनुहार, पहुँच, गुट, नातासम्बन्ध वा क्षणिक प्रभावभन्दा माथि उठेर उम्मेदवारको विचार, व्यवहार, विगत र भविष्यको दृष्टि हेर्नु आवश्यक छ।
अबको राजनीति केवल पुराना नाराले चल्दैन। जनताले भाषणभन्दा परिणाम खोजिरहेका छन्। युवाले रोजगारी, शिक्षा, उद्यम, प्रविधि र अवसर खोजिरहेका छन्। नागरिकले सुशासन, पारदर्शिता, सामाजिक न्याय र जवाफदेहिता मागिरहेका छन्। देशको ठूलो जनसंख्या राजनीतिक दलका परम्परागत भाषण सुनेर मात्र सन्तुष्ट हुने अवस्थामा छैन। उसले सोधिरहेको छ-राजनीतिले हाम्रो जीवनमा के परिवर्तन ल्यायो ?
त्यसैले प्रतिनिधिले मत हाल्दा सबैभन्दा पहिले नेताको वैचारिक निष्ठा हेर्नुपर्छ। सिद्धान्त उसको राजनीतिक जीवनको आधार हो कि परिस्थिति हेरेर बदलिने सुविधा ? विचार केवल भाषण र घोषणापत्रमा सीमित छ कि व्यवहारमा पनि देखिन्छ ? अवसर आउँदा सिद्धान्त सम्झिने र संकट पर्दा सिद्धान्त बिर्सिने प्रवृत्तिलाई राजनीतिक निष्ठा मान्न सकिँदैन।
नेताको विगत पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आज के बोलिरहेको छ भन्दा हिजो के बोल्यो, कसरी बोल्यो र बोलेको कुरामा कति उभियो भन्ने प्रश्न झन् महत्वपूर्ण हो। राजनीतिक असहमति लोकतन्त्रको सौन्दर्य हो, तर असहमतिलाई गाली, अपमान र व्यक्तिगत आक्रमणमा बदल्ने संस्कारले लोकतन्त्रलाई कमजोर बनाउँछ। नेतृत्वको स्तर उसको भाषणको उचाइबाट होइन, विरोधी विचारप्रति देखाउने सहिष्णुताबाट पनि मापन हुन्छ।
प्रतिबद्धता पनि भाषणको विषय मात्र होइन। राजनीति कठिन हुँदा पनि विचारमा अडिने साहस चाहिन्छ। पद र सुविधा हुँदा आदर्शको कुरा गर्ने तर संकटमा अवसर खोज्ने प्रवृत्तिले राजनीतिलाई जनसेवाबाट स्वार्थसेवातर्फ धकेल्छ। त्यसैले उम्मेदवारको राजनीतिक यात्रामा उसको संघर्ष, निरन्तरता र प्रतिबद्धताको पाइन कति छ भन्ने प्रश्न गर्नैपर्छ।
नीतिगत स्पष्टता अर्को निर्णायक आधार हो। मुलुकको अर्थतन्त्र कसरी अघि बढाउने ? रोजगारी कसरी सिर्जना गर्ने ? युवालाई देशमै भविष्य देखाउने वातावरण कसरी बनाउने ? शिक्षा र स्वास्थ्यलाई कसरी जनमुखी बनाउने ? भ्रष्टाचार र बिचौलियातन्त्र कसरी नियन्त्रण गर्ने ? संघीय लोकतान्त्रिक व्यवस्थालाई कसरी प्रभावकारी बनाउने ? सामाजिक विभेद र असमानता कसरी घटाउने ? यस्ता प्रश्नमा स्पष्ट दृष्टिकोण नभएको नेतृत्वले केवल आकर्षक भाषणबाट देशलाई गन्तव्यमा पुर्याउन सक्दैन।
लोकतन्त्र पार्टीभित्रबाटै सुरु हुन्छ। आफ्नै संगठनभित्र प्रश्न गर्न नदिने, आलोचनालाई विद्रोह ठान्ने र फरक मत राख्नेलाई गुटबन्दीको आरोप लगाउने संस्कारले लोकतान्त्रिक पार्टी निर्माण हुँदैन। असहमति दबाएर संगठन बलियो हुँदैन; बरु आलोचना, बहस र आत्मालोचनाबाट नेतृत्व परिपक्व हुन्छ। त्यसैले आफूभन्दा फरक विचार सुन्न सक्ने, आलोचना स्वीकार गर्न सक्ने र आवश्यक पर्दा आफ्नै निर्णयमाथि पुनर्विचार गर्न सक्ने नेता नै लोकतान्त्रिक नेता हो।
नेताको सार्वजनिक जीवनशैली पनि मतदाताको मूल्यांकनको विषय बन्नुपर्छ। राजनीति जनताको सेवा हो कि पहुँच, स्रोत र बिचौलियाको भर्याङ ? सार्वजनिक पदलाई निजी लाभको माध्यम बनाउने प्रवृत्तिबाट राजनीति मुक्त हुन नसकेसम्म लोकतन्त्रप्रतिको नागरिक विश्वास बलियो हुन सक्दैन। नेता कति धनी छ भन्ने होइन, उसको सम्पत्ति र जीवनशैलीको स्रोत कति पारदर्शी छ भन्ने प्रश्न महत्वपूर्ण हो।
समावेशिताको सवालमा पनि अब औपचारिकता पर्याप्त छैन। महिला, दलित, जनजाति, मधेसी, पिछडिएका समुदाय र युवालाई प्रतिनिधित्वको संख्या पूरा गर्न मात्र होइन, निर्णय प्रक्रियामा वास्तविक शक्ति र भूमिका दिनुपर्छ। समावेशिता अनुहारको सजावट होइन, शक्ति संरचनाको पुनर्संरचना हो। बोक्रामा समावेशिता र गुदीमा पुरानै सत्ता संरचना रहने हो भने त्यसलाई परिवर्तन भन्न सकिँदैन।
नेपालको राजनीति अहिले पुस्तान्तरणको निर्णायक मोडमा छ। अग्रज पुस्ताले लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि गरेको संघर्ष, त्याग र योगदानको सम्मान हुनैपर्छ। तर सम्मानको अर्थ नयाँ पुस्ताको बाटो रोक्नु होइन। राजनीति इतिहासको संग्रहालय होइन; समयसँगै बदलिनुपर्ने जीवित प्रक्रिया हो। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलाउन सकियो भने मात्र राजनीतिको नयाँ अध्याय सुरु हुन सक्छ।
युवालाई चुनावी भीड, झण्डा बोक्ने कार्यकर्ता वा सामाजिक सञ्जालका प्रचारकमा सीमित राख्ने राजनीतिक संस्कार अब बदलिनुपर्छ। युवालाई नीति निर्माणको टेबलमा बसाल्नुपर्छ। नेतृत्व विकासको अवसर दिनुपर्छ। अर्थतन्त्र, प्रविधि, सार्वजनिक प्रशासन, अन्तर्राष्ट्रिय सम्बन्ध र नीतिनिर्माणबारे अध्ययन र प्रशिक्षणको संस्थागत व्यवस्था गर्नुपर्छ। उम्मेदवार छनोटदेखि जिम्मेवारी बाँडफाँटसम्म गुट, पहुँच र आर्थिक शक्तिभन्दा क्षमता, विचार, सामाजिक योगदान र जनविश्वासलाई प्राथमिकता दिनुपर्ने समय आएको छ।
तर पुस्तान्तरणको अर्थ उमेर फेरबदल मात्र होइन। नयाँ पुस्ताले पनि आफूलाई नेतृत्वका लागि योग्य प्रमाणित गर्नुपर्छ। प्रश्न गर्ने साहससँगै अध्ययन, संगठन निर्माण, जनतासँगको सम्बन्ध, विचारप्रतिको निष्ठा र कठिन परिस्थितिमा उभिने चरित्र आवश्यक हुन्छ। पुराना नेताको आलोचना गरेर मात्र नयाँ नेतृत्व स्थापित हुँदैन; नयाँ राजनीतिक संस्कार व्यवहारबाट देखाउनुपर्छ।
समय बदलिँदा विचार र नीति पनि समयको आवश्यकताअनुसार परिमार्जित हुनुपर्छ। तर समयको स्वर सुन्ने नाममा स्वार्थको गणितअनुसार विचार बदल्नु अर्को अवसरवाद हो। परिवर्तनशीलता र अवसरवादबीचको अन्तर बुझ्न सक्ने नेतृत्व आजको आवश्यकता हो।
राजनीति बिग्रियो भनेर गुनासो गरेर मात्र राजनीति सुध्रिँदैन। पुरानो संरचनालाई गाली गरेर मात्र नयाँ राजनीति जन्मिँदैन। नयाँ मान्छे, नयाँ सोच, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्छ। त्यसका लागि राजनीतिमा उदाउँदै गरेका सम्भावनाहरूलाई व्यक्तिगत, गुटगत वा दलगत सीमाभन्दा माथि उठेर प्रोत्साहित गर्नुपर्छ। नयाँ पुस्तालाई अवसर दिनु भनेको पुरानो पुस्ताको अपमान होइन; लोकतन्त्रको भविष्य सुरक्षित गर्नु हो।
अन्ततः आजको मतदानले एउटा नेता मात्र छान्ने छैन, कांग्रेसभित्रको राजनीतिक संस्कार पनि रोज्नेछ। त्यसैले प्रतिनिधिले मतपत्रमा छाप लगाउँदा केवल उम्मेदवारको अनुहार नहेर्नुहोस्; उसको विचार हेर्नुहोस्, विगत हेर्नुहोस्, व्यवहार हेर्नुहोस्, प्रतिबद्धता हेर्नुहोस् र भविष्यको दृष्टि हेर्नुहोस्।
हामी व्यक्तिलाई रोज्दैछौँ कि विचारलाई ? पदलाई रोज्दैछौँ कि प्रतिबद्धतालाई ? गुटलाई रोज्दैछौँ कि संगठनलाई ? विगत दोहोर्याउने नेतृत्व रोज्दैछौँ कि भविष्य निर्माण गर्ने नेतृत्व ?
लोकतन्त्र भोटबाट सुरु हुन्छ, तर भोटमै समाप्त हुँदैन। सही नेतृत्व छनोट गर्ने विवेकबाट लोकतन्त्र बलियो हुन्छ। त्यसैले आज मतपत्रमा छाप लगाउनुअघि एकपटक गम्भीर भएर सोचौँ—कस्तो कांग्रेस बनाउने ? कस्तो राजनीति रोज्ने ? र कस्तो देश निर्माण गर्ने ?
किनकि एउटा मतले केवल नेता जिताउँदैन, त्यो मतले भोलिको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ।


