कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड

अ+
अ
अ-

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण भइरहेको छ । पाँचखालस्थित बागवानी विकास केन्द्रले हाइब्रिड धान, आलु, तरकारी तथा मसला बालीका विभिन्न जात र प्रविधिको परीक्षण गर्दै उत्पादन, लागत, बजार र कृषकको आम्दानीसँग सम्बन्धित तथ्य सङ्कलन तथा विश्लेषण गर्दै आएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत कृषि विकास निर्देशनालयको मातहतमा रहेको केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आव २०८३/८४ को कार्यक्रम सार्वजनिक गर्दै कृषि अनुसन्धान, प्रविधि परीक्षण, बीउ उत्पादन तथा कृषक क्षमता विकासका क्षेत्रमा भएका काम र प्राप्त नतिजा सार्वजनिक गरेको हो । केन्द्रको वार्षिक प्रगति विवरणअनुसार आव २०८२/८३ मा रु दुई करोड २४ लाख २२ हजार बजेट विनियोजन भएकामा रु एक करोड ७८ लाख ९८ हजार खर्च भएको छ । यसबाट वित्तीय प्रगति ७९ दशमलव ८२ प्रतिशत पुगेको छ । पुँजीगततर्फ ९८ दशमलव ६९ प्रतिशत र चालुतर्फ ७७ दशमलव ४३ प्रतिशत वित्तीय प्रगति भएको केन्द्रले जनाएको छ ।

केन्द्रले आफ्नै उत्पादन तथा सेवा बिक्रीबाट समीक्षा अवधिमा रु ६९ लाख ३१ हजार २०३ रुपैयाँ ५० पैसा राजस्व सङ्कलन गरेको छ । केन्द्रका प्रमुख तथा वरिष्ठ बागवानी विकास अधिकृत विष्णु बोगटीका अनुसार अनुसन्धान तथा प्रविधि परीक्षणलाई कृषकको उत्पादन र व्यावसायिक आवश्यकतासँग जोड्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ । केन्द्रको परीक्षणमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हार्दिनाथबाट प्राप्त १० वटा पाइपलाइन हाइब्रिड धानका जातमध्ये नेपाली हाइब्रिड धान ‘एचएच–१४२’ ले पाँचखालको माटो र हावापानीमा प्रतिहेक्टर १० टनसम्म उत्पादन दिएको छ । विभिन्न जातको परीक्षणका क्रममा उक्त जातले उच्च उत्पादन दिएको केन्द्रका प्रमुख बोगटीले बताउनुभयो ।

धानको बीउ उत्पादनतर्फ केन्द्रले ५ दशमलव ८ मेट्रिक टन गुणस्तरीय बीउ उत्पादन गरी वितरण गरेको छ । उक्त बीउबाट करिव ११६ हेक्टर क्षेत्रफलमा धान खेती विस्तार गर्न सहयोग पुगेको केन्द्रले जनाएको छ । स्थानीय हावापानी अनुकूल उत्पादन क्षमता भएका जात पहिचान गरी कृषकसम्म पु¥याउने उद्देश्यले विभिन्न जातको परीक्षण गरिएको केन्द्रको भनाइ छ । धान उत्पादनसँगै मकैमा श्रम र समय घटाउने प्रविधिको परीक्षण गरिएको छ । केन्द्रले नर्सरीमा मकैका बिरुवा उत्पादन गरी उपयुक्त समयमा मुख्य खेतमा रोप्ने विधि परीक्षण गरेको हो । परीक्षणका क्रममा यसरी उत्पादन गरिएको हरियो मकै सामान्य समयभन्दा आठदेखि १० दिन अगाडि बजारमा पु¥याउन सकिएको केन्द्रले जनाएको छ ।

हरियो मकैको माग हुने समयमा उत्पादन बजारमा पु¥याउन सकिने भएकाले यस प्रविधिबाट उत्पादनको समय व्यवस्थापनमा सहयोग पुग्ने केन्द्रको निष्कर्ष छ । यसले उत्पादन प्रविधिलाई बजारको मागसँग जोडेर परीक्षण गर्ने केन्द्रको अभ्यासलाई समेत देखाएको छ । तरकारीतर्फ टनेल तथा सेडहाउसमा बेर्ना उत्पादन गरिएको छ । केन्द्रका अनुसार समीक्षा अवधिमा पाँच लाख ७० हजार तरकारीका बिरुवा उत्पादन गरी १७ हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्न सहयोग गरिएको छ । गुणस्तरीय बेर्ना उत्पादन तथा वितरणबाट कृषकलाई खेतीको सुरुआती चरणमा हुने समस्या घटाउन सहयोग पुगेको केन्द्रले जनाएको छ ।