काठमाडौं । नेपालमा लेखक तथा संगीतकर्मीको सिर्जनाको अधिकार संरक्षण, संगीत इजाजतपत्र प्रणाली र रोयल्टी संकलन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय स्तरबाट पहल अघि बढाइएको छ।
अन्तर्राष्ट्रिय लेखक संघ तथा संगीतकार संघहरूको महासंघ र संगीत रोयल्टी संकलन समाज नेपालबीच प्रतिलिपि अधिकार संरक्षण तथा रोयल्टी व्यवस्थापन प्रणालीलाई व्यवस्थित र संस्थागत बनाउने विषयमा छलफल भएको हो।
महासंघका एसिया–प्रशान्त क्षेत्रीय निर्देशक बेंजामिन एनजीको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलले काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खुवराज पौडेलसहित सरकारी अधिकारी तथा सांस्कृतिक क्षेत्रका सरोकारवालासँग भेटवार्ता गरेको छ।
प्रतिनिधिमण्डलले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, संस्कृति मन्त्रालयका सहसचिव सौभाग्य प्रधानाङ्ग, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव रोशन शेरचन, प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार हरिप्रसाद चपागाईं तथा संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेशचन्द्र अधिकारीसँग छुट्टाछुट्टै छलफल गरेको हो।
छलफलका क्रममा नेपालमा सिर्जनशील उद्योगको विकास, लेखक तथा संगीतकर्मीको बौद्धिक सम्पत्तिको संरक्षण र सिर्जनाको उचित उपयोगबाट प्राप्त हुने रोयल्टीलाई व्यवस्थित रूपमा संकलन तथा वितरण गर्ने प्रणालीका विषयमा जोड दिइएको छ।
प्रतिनिधिमण्डलले बदलिँदो विश्व परिवेशमा नेपालको सिर्जनशील क्षेत्रलाई बलियो बनाउन प्रतिलिपि अधिकार संरक्षण, इजाजतपत्र प्रणाली र रोयल्टी व्यवस्थापनलाई पारदर्शी तथा प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
सरोकारवालाबीचको छलफलले नेपालमा सिर्जनाकर्मीको अधिकार संरक्षणसँगै संगीत तथा साहित्य क्षेत्रलाई संस्थागत र व्यावसायिक रूपमा अघि बढाउने आधार निर्माण गर्ने अपेक्षा गरिएको छ।


