ओखलढुंगा । जिल्लाको सिद्विचरण नगरपालिका वडा नम्बर ७ बिगुटारका नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध हुने भएको छ। वडा नं. ७ का नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न अस्पतालसँग उपचारमा छुटसम्बन्धी सहमति गरिएको जनाइएको छ।
सिद्विचरण नगरपालिका मेयर तेजन खनाल र वडा नम्बर ७ का वडा अध्यक्ष भल बहादुर कटुवालकाे संयुक्त पहलमा केएम.सि. मेडिकल कलेज बिच वडाबासीकाे उपचारमा सहयोग पुर्याउनका लागि छुटकाे व्यवस्था गरिएको छ। नगरपालिका र अस्पताल प्रसाशन बिच भएको सहमति पत्रमा काठमाडौं मेडिकल कलेज अस्पताल दुवाकोट, भक्तपुरमा ५० प्रतिशत, सिनामंगल काठमाडौमा २५ प्रतिशत र नोबेल मेडिकल कलेज, विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने उल्लेख छ।
वडा कार्यालयको सिफारिसका आधारमा औषधिबाहेक चिकित्सकले दिने सेवामा उक्त छुट प्राप्त गर्न सकिने सिद्धिचरण नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कटुवालले जानकारी दिनु भयो । साथै वार्षिक कम्तिमा १० जना नागरिकलाई निःशुल्क उपचार गरिने व्यवस्था पनि रहेको जनाइएको छ।
उनले बिगुटार वडा नं. ७ का नागरिकलाई उक्त स्वास्थ्य सेवाबारे जानकारी लिएर अवसरको लाभ उठाउन आग्रह गरेका छन्। वडापरिवार तथा बिगुटार ओखलढुंगाका सम्बन्धित सबैलाई स्वास्थ्य सेवाबाट लाभ लिन अनुरोध गरेका छन्।
केएम .सि. र नोबेल अस्पतालले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्। नोबेल मेडिकल कलेजले आफ्नो वेबसाइटमा २४ घण्टा आकस्मिक सेवा तथा विभिन्न विशेषज्ञ उपचार सेवा उपलब्ध रहेको जनाएको छ।


