भोटेकोसी बाढीपीडितको सहयोगमा स्वदेशीदेखि विदेश कलाकारसम्म, कसैले राहत बाँडे, कसैले नगद दिए

+
-

काठमाडौँ । भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाली तथा विदेशी कलाकारहरू पनि जुटेका छन्। कलाकारहरूले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोगसमेत गरेका छन्।

बाढी प्रभावितको सहयोगका लागि कलाकारहरू विराज भट्ट, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निता ढुंगाना, रचना रिमाल बेनिशा पौडेल, माल्भिका सुब्बा र गाेविन्द शाहीलगायतले आर्थिक सहयोग गरेका छन्।

गायक प्रशान्त केसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गरेका छन्। यस्तै, दक्षिण कोरियाली के–पप समूह स्ट्रे किड्सका सदस्य लि नोले बाढीपीडित बालबालिकाको आपत्कालीन आवश्यकता तथा जीविकोपार्जनका लागि १ कराेड वान सहयोग गर्ने घोषणा गरेका छन्।

अभिनेत्री प्रियंका कार्कीले पनि प्रभावित क्षेत्रमा पुगेर राहत सहयोग गरेकी छन्। अभिनेत्री उषा रजकले दुई गाडी राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएकी थिइन्।

यस्तै, कलाकार दुर्गेश थापा, पल शाह, गायक एकदेव लिम्बू, समीक्षा अधिकारी तथा पूर्वमिस नेपाल दीपमाला ढकाललगायत पनि राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका थिए।

पूर्वमिस नेपाल आस्ना कुमारी, अभिनेत्री नितिशा शाह, हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, गायक सुशान्त केसी, अभिनेत्री ऋचा शर्मालगायत कलाकारहरूले पनि बाढी प्रभावितका लागि राहत सामग्री तथा आर्थिक सहयोग गरेका छन्।

बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी निकायसँगै विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणसँगै कलाकारहरू पनि सक्रिय छन्।