भोटेकोसी बाढीको समस्या समाधान गर्न सरकारसँग स्थानीय तहका दुई महासंघको आठबुँदे माग

त्रिशूली (नुवाकोट),१३ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त भएको नुवाकोटको त्रिशूली बजार। नदीमा आएको बाढीले बस्तीका घर तथा संरचनामा ठूलो क्षति पुर्‍याएपछि बजार क्षेत्र बगरमा परिणत भएको छ। तस्बिरः प्रदीप राज वन्त/रासस
+
-

काठमाडौं । भोटेकोसीमा आएको विनाशकारी बाढीबाट उत्पन्न समस्या समाधान, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले सरकारसँग आठबुँदे माग राखेका छन्।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेव पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले संयुक्त रूपमा हस्ताक्षर गरेको अपिलमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिएको छ।

स्थानीय तहका दुई छाता संगठनले विपद्का बेला स्रोतसाधनको अत्यधिक केन्द्रीकरण गरी तहगत सरकारबीच आवश्यक समन्वय नगर्दा राहत तथा उद्धार कार्यमा अवरोध सिर्जना भएको दाबी गरेका छन्।

उनीहरूले बाढीपछि बेपत्ता नागरिकको खोज तथा उद्धारका लागि अन्तर्राष्ट्रियस्तरको दक्षता र आधुनिक प्राविधिक सहयोग परिचालन गर्न सरकारसँग माग गरेका छन्। साथै, राहत व्यवस्थापनलाई सुरक्षा निकायको नियन्त्रणमा राख्ने तथा अत्यधिक केन्द्रीकरण गर्दै एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्थाप्रति पनि उनीहरूले आपत्ति जनाएका छन्।

अपिलमा विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गर्नुपर्नेमा जोड दिइएको छ। विपद्को समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुको सट्टा साझा सहकार्य र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ।

संघीय शासन प्रणालीको मर्मअनुसार विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच स्पष्ट भूमिका, जिम्मेवारी र समन्वय कायम गरी प्रभावित नागरिकलाई तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।