काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलनलाई निरन्तरता दिएको छ।
राष्ट्र बैंकले सोमबार ९० दिन अवधिको रु. २० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो। राष्ट्र बैंकका अनुसार बोलकबोल अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ।
यस निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागी हुन सक्नेछन्।
बोलकबोलमा समान ब्याजदरमा परेको कुल बोल रकम निष्कासित गर्न खोजिएको रकमभन्दा बढी भएमा प्रो-रेट (Pro-rata) आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न विभिन्न अवधिका निक्षेप संकलन बोलकबोल गर्दै आएको छ।
यसअघि भदौ १० गते रु. ९० अर्बको चार महिने र भदौ ५ गते रु. ८५ अर्बको छ महिने निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरिएको थियो।


