सुम्निमा–पारुहाङ प्रतिमा निर्माणमा बेलबारीको ऐतिहासिक श्रमदान, ‘श्रम संस्कृति’ अभियानमा बढ्दै जनलहर

+
-

धरान । कसैले ठूलो बजेट बोकेर आएनन्, कसैले चन्दा माग्दै हिँडेनन्। हातमा थियो-श्रम गर्ने अठोट, मनमा थियो-आफ्नो संस्कृति र पहिचानप्रतिको सम्मान। यही भावनासहित मोरङको बेलबारीबाट करिब ४५० जना श्रमदाता शनिबार धरानको चिण्डेडाँडा पुगे।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको परिकल्पनामा सञ्चालित ‘सुम्निमा-पारुहाङ प्रतिमा निर्माण अभियान’लाई साथ दिन बेलबारी नगर कार्यसमितिको आयोजनामा पुगेको टोलीले निर्माणस्थलमा दिनभर श्रमदान गरेको हो।

विशाल प्रतिमा निर्माणस्थलमा बेलबारीबाट पुगेको ठूलो टोलीको उपस्थितिले चिण्डेडाँडामा छुट्टै उत्साह थपेको थियो। श्रमदाताहरूले विभिन्न भौतिक काममा सक्रिय सहभागिता जनाउँदै ‘श्रम नै सम्मान हो’ भन्ने सन्देश दिएका छन्।

आफ्नै पैसाले गाडी, आफ्नै इच्छाले श्रम
श्रम संस्कृति पार्टी बेलबारी नगर अध्यक्ष पर्वत राईका अनुसार श्रमदानमा सहभागी हुन आएका करिब ४५० जनाले आफैँले सकेको रकम स्वेच्छाले संकलन गरी धरान आउजाउका लागि यातायातको व्यवस्थापन गरेका थिए।

कुनै बाह्य दबाब वा ठूलो बजेटको भरमा नभई स्थानीयको सानो–सानो योगदान र स्वस्फूर्त इच्छाशक्तिबाट टोली धरान पुगेको राईले बताए।
“हामी यहाँ कसैको दबाबमा होइन, आफ्नै इच्छाले आएका हौँ। आफ्नो इतिहास, संस्कृति र पहिचानका लागि श्रम गर्न पाउनु नै हाम्रो लागि गौरव हो,” राईले भने।

चिण्डेडाँडामा बढ्दैछ श्रमदाताको लहर किराँती सभ्यता र संस्कृतिको प्रतीकका रूपमा हेरिएको सुम्निमा–पारुहाङको विशाल प्रतिमा निर्माण अभियानमा देशका विभिन्न स्थानबाट श्रमदाताहरू जोडिने क्रम बढिरहेको छ।

अभियानले आर्थिक सहयोगभन्दा स्वयंसेवी श्रम र नागरिक सहभागितालाई प्राथमिकता दिएको छ। यही कारण प्रतिमा निर्माणस्थलमा विभिन्न ठाउँबाट मानिसहरू आफ्नै खर्चमा पुगेर श्रमदान गर्ने क्रम बढेको आयोजकहरूको भनाइ छ।

कार्यक्रमका संयोजक चन्द्र घलेका अनुसार बेलबारीबाट आएको टोलीले निर्माणस्थलमा उत्साहपूर्वक श्रमदान गरेको थियो।
‘श्रम संस्कृति’को सन्देश फैलिँदै अध्यक्ष हर्क साम्पाङले अघि सारेको श्रम संस्कृति’को अवधारणाले विकास निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिता र सामूहिक श्रमलाई जोड दिएको छ।सुम्निमा–पारुहाङ प्रतिमा निर्माण अभियान पनि यही अवधारणाको एउटा महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। अभियानमा जोडिने श्रमदाताहरूले आफ्नो समय, पसिना र श्रमलाई प्रतिमा निर्माणमा समर्पित गरिरहेका छन्।
बेलबारीबाट चिण्डेडाँडासम्म पुगेका ४५० श्रमदाताको सहभागिताले एउटा सन्देश दिएको छ ठूला संरचना केवल बजेटले होइन, नागरिकको इच्छाशक्ति र पसिनाले पनि निर्माण हुन्छन्।

चिण्डेडाँडामा निर्माण भइरहेको सुम्निमा–पारुहाङ प्रतिमा केवल ढुंगा, माटो वा संरचनाको विषय नभई इतिहास, संस्कृति, पहिचान र सामूहिक श्रमको प्रतीक बनाउने प्रयासका रूपमा अभियानकर्ताहरूले व्याख्या गर्दै आएका छन्। बेलबारीका ४५० हात चिण्डेडाँडामा पुगे। श्रम थपियो, पसिना थपियो र अभियानमा अर्को एउटा अध्याय थपियो।