काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, उपचार तथा पुनःस्थापनामा जुट्न देशभरका सुनचाँदी व्यवसायीलाई अपिल गरेको छ।
महासंघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता तथा सम्पर्कविहीन नागरिकको यथाशीघ्र खोजी तथा उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
महासंघले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई आवश्यक राहत, उद्धार, उपचार तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण सुनचाँदी व्यवसायीलाई आग्रह गरेको हो।
महासंघका महासचिव किरणभाइ बज्राचार्यद्वारा जारी विज्ञप्तिमा दुःखको यस घडीमा महासंघ तथा आबद्ध सुनचाँदी व्यवसायीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइएको छ।


