काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीका कारण जनधनमा क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा उल्लेख्य क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण त्यस क्षेत्रका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र एवं विभिन्न वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।
प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाएको छ। आपूर्ति नियमित नहुँदासम्म धैर्य गर्न तथा आवश्यक सूचना प्रवाहमा सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ।
यसैबीच, प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।


