चालु आर्थिक वर्षमा १६ वस्तुको मूल्य वृद्धि, दैनिक उपभोग्य सामग्री महँगिँदा उपभोक्तामाथि मार

+
-

काठमाडौँ । चालु आर्थिक वर्षमा १६ वटा प्रमुख वस्तुको बजार मूल्य वृद्धि भएको पाइएको छ। तीमध्ये १० वस्तुको मूल्य वृद्धि आयात घटेका कारण भएको देखिएको छ भने ६ वस्तुको माग बढेका कारण मूल्य बढेको तथ्यांकले देखाएको छ।

दैनिक उपभोग तथा अत्यावश्यक वस्तुको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्ताको दैनिक जीवनमा परेको छ। उपलब्ध तथ्यांकले बजारमा वस्तुको वास्तविक खपत बढेको भन्दा पनि कतिपय वस्तुको मूल्य वृद्धिका कारण आयातको मूल्य बढेको संकेत गरेको छ।

सोयाबिन कच्चा तेलको आयात १७.६ प्रतिशतले बढेर १८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ पुगेको छ। यसबाट ६९ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो साउनको तुलनामा १३६.४ प्रतिशतले बढी हो।

यस्तै, डिजेलको आयात परिमाण १ लाख ३ हजार ३ सय ९६ किलो लिटर पुगेको छ। पेट्रोलको परिमाणात्मक आयात भने १६.८६ प्रतिशतले घटेर ५६ हजार ३ सय ९ किलो लिटरमा सीमित भएको छ।

एलपी ग्यासको माग बढेका कारण यसको आयात उच्च देखिएको छ। बजारमा एलपी ग्यासको अभावसमेत देखिएका बेला यसको आयात बढेको हो। कृषिको मुख्य सिजन भएकाले डीएपी मलको आयातमा पनि वृद्धि भएको छ।

हवाई इन्धनबाट ३० करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको तुलनामा ५९.७९ प्रतिशतले बढी हो।

अर्कोतर्फ, मसिनो चामलको आयात घटेको छ। सुनको आयात भने करिब ५० प्रतिशतको हाराहारीमा रहेको तथ्यांकले देखाएको छ। पशुपन्छीका लागि दाना तथा आहारमा प्रयोग हुने मकैको आयातमा पनि गिरावट आएको छ।

५० देखि १२५ सीसी क्षमताका मोटरसाइकल तथा तिनका पार्टपुर्जाको आयात ३०.१४ प्रतिशतले घटेर ११ हजार ३१ थानमा सीमित भएको छ। औषधिको आयात परिमाणमा पनि कमी आएको छ।

कोइलाको आयात मूल्य २०.९४ प्रतिशतले घटेर करिब ६ अर्ब १ करोड ६ लाख रुपैयाँ बराबरमा सीमित भएको छ। कोइलाबाट ३५ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

युरिया मलमा सरकारले अनुदान तथा छुट दिने भएकाले यसबाट राजस्व संकलन नगर्ने व्यवस्था रहेको छ। फलामबाट १६ करोड ८३ लाख रुपैयाँ, स्मार्टफोनको आयातबाट ६२ करोड ७२ लाख ३५ हजार रुपैयाँ तथा फलामको कच्चा पदार्थबाट ६५ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ।

समग्र तथ्यांकले चालु आर्थिक वर्षमा १६ प्रमुख वस्तुको मूल्य वृद्धि भएको देखाएको छ। आयातको परिमाण, बजार माग र मूल्यबीचको सम्बन्ध हेर्दा कतिपय वस्तुमा वास्तविक खपत बढेका कारण नभई मूल्य वृद्धिका कारण आयातको मूल्य बढेको देखिन्छ। दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको मूल्य वृद्धि जारी रहे उपभोक्ताको खर्च थप बढ्ने देखिएको छ।