चाँगुनारायणमा वडाध्यक्ष स्वास्थ्य कार्यक्रम, १२३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

+
-

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ मा वडाध्यक्ष स्वास्थ्य कार्यक्रम शुभारम्भ भएको छ। प्राज्ञटोल सुधार समितिको आयोजनामा भएको कार्यक्रममा १२३ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।

कार्यक्रममा ६६ जनाको आँखा परीक्षण गरिएको थियो भने ६७ जनाले सुगर, ईसीजी, कोलेस्ट्रोल र रक्तचाप परीक्षण सेवा लिएका थिए। यस्तै, राधाकृष्ण सत्संग भवन र मित्रश्री पाठशालामा आयोजित रक्तदान कार्यक्रममा ३३ जना स्वयंसेवीले रक्तदान गरेका छन्।

दुवाकोट स्वास्थ्य चौकी, प्रहरी प्रभाग दुवाकोट, मित्रश्री पाठशाला, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा, प्राज्ञ आदर्श समाज, पातञ्जल योग समिति नेपाल र सुखी घरेलु उद्योगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

वडा नं. २ का वडाध्यक्ष तथा कार्यक्रमका परिकल्पनाकार सोमप्रसाद प्रधानले वडाका हरेक टोल र घरघरमा स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमलाई साप्ताहिक रूपमा निरन्तरता दिइने बताउनुभयो।

दुवाकोट स्वास्थ्य चौकीका प्रमुख कुमार केसीले स्वास्थ्य परीक्षणका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराइएको जानकारी दिनुभयो। कार्यक्रममा रेडक्रस, प्रहरी, विद्यालय तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले स्वास्थ्य कार्यक्रमको प्रभावकारिताबारे धारणा राखेका थिए।

प्राज्ञ आदर्श समाजका अध्यक्ष नबराज काफ्लेले कार्यक्रमलाई सामुदायिक स्वास्थ्य सेवाको उदाहरणीय पहलका रूपमा उल्लेख गर्नुभयो। कार्यक्रमको अन्त्यमा प्राज्ञटोल सुधार समितिका अध्यक्ष कपिल कार्कीले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।