दुर्गालालसँग गीतकार सङ्घले सम्मान गरेदेखि सानिध्यता थियो -गोविन्द शृङ्खला

+
-

साहित्यकार तथा गीतकार दुर्गालाल श्रेष्ठ कालजयी स्रष्टा हुन् । उनकाे जन्म वि.सं. १९९४ सालमा काठमाडौंकाे नेवार समुदायमा भएको थियो । नेपालभाषा साहित्यका सिद्धहस्त स्रष्टा श्रेष्ठ नेपाल भाषाकाे उन्नयमा याेगदान पुर्याएका व्यक्ति थिए। उनको याेगदानलाई नेपाल भाषीले सधैं सम्झिरहने छन् ।

त्यसकारण नेपाल भाषा परिषद्ले सन् २००३ मा उनलाई ‘जनकवि’ को उपाधि प्रदान गरेको हो । गीत, कविता, नाटक र बालसाहित्यमा श्रेष्ठ लामो र निरन्तर लेख्ने प्रभावशाली थिए।

दुर्गालाल श्रेष्ठको विशेष पहिचान गीतकारका रूपमा छ । उनले आफ्ना गीतमा प्रेम, प्रकृति, मानवीय संवेदना, सामाजिक चेतना, पीडा र आशाजस्ता विषयलाई सरल तर अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गर्ने गरेका थिए। उनको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ नेपाली गीत-संगीतको अत्यन्त लोकप्रिय सिर्जनाका रूपमा स्थापित छ।

यस गीतमा उनको शब्दमा रहेको सरलता, दर्शन र मानवीय दृष्टिकोणलाई अत्यन्तै सिर्जनात्मक तरिकाले देखाएको छ । उनको लेखनका केही विशेषताहरु छन् ।

श्रेष्ठको लेखनले सरल तर गहिरा शब्द,संगीतात्मक र लयात्मक भाषा,प्रेम र प्रकृतिसँगै मानवीय संवेदना पनि बाेकेकाे पाइन्छ ।सामाजिक यथार्थ र जनजीवनप्रतिको सरोकार,नेपालभाषा र नेपाली दुवै भाषामा सिर्जना गरिएका कृति पढ्न नेपाली पाठकलाई छुट छ। उनका लेखनमा लोकजीवन र लोकधुनबाट प्रभावित अभिव्यक्ति हुनुका साथै उनका रचनामा अनुप्रास र शब्दको संगीतात्मक प्रयोगले विशेष आकर्षण थपेकाे छ।

श्रेष्ठले जगदम्बा-श्री २०६७ पनि प्राप्त गरेकाे छन् । नेपाली तथा नेपालभाषामा दशकौँसम्म सुमधुर गीत, कविता, काव्य र बालसाहित्य सिर्जना गरी नेपाली वाङ्मयलाई समृद्ध बनाउनमा उनकाे योगदान महत्त्व रहेकाे छ। मेरो विचारमा दुर्गालाल श्रेष्ठ गीत लेख्ने गीतकार मात्र होइनन् उनका शब्दमा गीत, कविता, दर्शन, प्रेम र जनजीवन एकैसाथ भेटिन्छ। त्यसैले नेपाली साहित्य र गीत-संगीतमा उनको स्थान विशिष्ट मान्न सकिन्छ।

यसै गरी वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठलाई गीतकार सङ्घ नेपालले ‘वर्ष अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७९’ प्रदान गरेको थियो । सङ्घको १४औँ स्थापना दिवसका अवसरमा २०८० जेठ १४ गते काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको थियो। म आफू गीतकार सङ्घ सँग आबद्ध भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुने र उहाँसंग साक्षात्कार गर्ने अवसर पाएको थिएँ।

गीतकार सङ्घ नेपालले नेपाली तथा नेपालभाषा दुवैमा लामो समयदेखि निरन्तर गीत सिर्जना गर्दै नेपाली गीत लेखन र साहित्यमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप श्रेष्ठलाई यो सम्मान प्रदान गरेको थियो । अन्त्यमा गीतकार , साहित्यकार दुर्गालाल श्रेष्ठको देहवशानले नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको निश्चित हो । आगामी दिनमा नेपाली गीत लेखन क्षेत्रमा उनी सधैं आदर्श पात्र सावित हुने छन् । श्रेष्ठ प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।

गीतकार गाेविन्द श्रृङ्खला