काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारस मणि गेलालले आफ्नै मन्त्रीको उद्धारमा प्रयोग गरिएको हेलिकप्टरलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गेलालले भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल बिरामी भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको विषयमा असन्तुष्टि जनाएका हुन्।
उनले नागरिक बिरामी हुँदा अस्पतालसम्म पुग्ने साधन नपाउने अवस्था रहेको तर मन्त्री बिरामी पर्दा राज्यको स्रोतबाट हेलिकप्टर प्रयोग गरिएको भन्दै प्रश्न गरे।
उनको भनाइ थियो, “नागरिक जनता बिरामी हुँदा अस्पताल जाने साधन छैन, मन्त्रीलाई रोग लाग्दा हेलिकप्टर !”
ग्यास, मल, विद्युत् र सञ्चार सेवाका समस्याले जनता पीडित भइरहेका बेला मन्त्रीलाई हेलिकप्टर चढाएर काठमाडौं ल्याउनु उचित नभएको गेलालले बताए।
उनले यस्तो प्रवृत्तिले राज्यको ढुकुटीमाथि थप भार पर्ने भन्दै सरकारको खर्च प्रणालीमाथि समेत प्रश्न उठाए।
मन्त्री लम्साल निर्माणाधीन राजमार्ग तथा पूर्वाधार आयोजनाको निरीक्षणका क्रममा सुदूरपश्चिम पुगेका थिए। बैतडीमा निरीक्षणका क्रममा बिरामी परेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
काठमाडौं ल्याइएका मन्त्री लम्सालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।


