काठमाडौ । आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी। हिन्दू धर्मावलम्बीहरूले यस दिन नागदेवताको पूजा–आराधना गरी मनाउने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ।
नागपञ्चमीका दिन घरको मूलद्वारमा नागको चित्र टाँस्ने चलन छ। नागको चित्र टाँस्दा घरमा हावा, अग्नि, चट्याङ तथा प्राकृतिक विपत्तिबाट सुरक्षा प्राप्त होस् भन्ने धार्मिक विश्वास गरिन्छ।
शास्त्रीय परम्परा र धार्मिक मान्यतामा नागलाई प्रकृतिसँग गहिरो सम्बन्ध राख्ने जीवका रूपमा लिइएको पाइन्छ। विशेषगरी जल, अग्नि र पृथ्वी तत्त्वसँग नागको सम्बन्ध जोडेर व्याख्या गरिएको छ। त्यसैले नागपञ्चमीलाई केवल नागको पूजा गर्ने पर्वका रूपमा मात्र नभई प्रकृति, जलस्रोत र जैविक विविधताको सम्मान गर्ने पर्वका रूपमा लिन धार्मिक विश्वास छ।
शास्त्रकाज्ञाता डि. पि.आत्रेयका अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागदेवताको पूजा गर्दा धूप, दीप, गोबर, दुग्ध, नैवेद्यलगायतका सामग्री अर्पण गर्ने चलन छ। घरमा पूजा गर्नुका साथै नदीकिनार, तलाउ, कुवा तथा पानीका अन्य स्रोतहरूमा स्थापना गरिएका नागदेवताका मूर्तिस्थलमा पुगेर पूजा–आराधना गर्ने परम्परा पनि छ।
नागपञ्चमीले मानिस र प्रकृतिबीचको सम्बन्धलाई स्मरण गराउँदै जलस्रोतको संरक्षण, जीवजन्तुप्रतिको सम्मान र प्रकृतिप्रतिको जिम्मेवारीको सन्देशसमेत दिन्छ।
नागदेवताको पूजाका क्रममा प्रचलित मन्त्र-ॐ अनन्ताय नमः।ॐ वासुकये नमः।ॐ शेषाय नमः।ॐ पद्मनाभाय नमः।ॐ कम्बलाय नमः।ॐ शङ्खपालाय नमः।ॐ धृतराष्ट्राय नमः।ॐ तक्षकाय नमः।
काठमाडौका नाग पाेखरी, नागदह,साथै भक्तपुरका ठुला पाेखरीहरु नागकाे पूजा गर्ने सर्वसाधारणको भिड लाग्ने गरेको छ।

