कांग्रेस संस्थापनइतरको राष्ट्रिय भेला : यस्ता छन् ५ निर्णय

अ+
अ
अ-

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला/सम्मेलन पाँचबुँदे निर्णय पारित गर्दै सम्पन्न भएको छ। साउन २९ गतेदेखि सुरु भएको भेलाले पार्टीको आगामी महाधिवेशन, राष्ट्रिय एकता, धार्मिक–सांस्कृतिक पहिचान, संविधान संशोधनलगायत विषयमा निर्णय गरेको हो।

भेलाबाट पारित पाँच निर्णय यस्ता छन् :

१. देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा सभापति शेरबहादुर देउवाकै सभापतित्वमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ। महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला/सम्मेलनका संयोजक शशांक कोइरालाले संयोजन गर्ने निर्णय पनि गरिएको छ।

२. राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गर्ने
देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय एकता र मेलमिलापको नीतिअनुसार राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सक्रिय रहने निर्णय गरिएको छ।

३. सनातन धर्म–संस्कृतिको संरक्षण गर्ने
नेपालको सनातन धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै हिन्दु, बौद्ध, किरात तथा प्रकृति धर्मको संरक्षण गर्ने निर्णय गरिएको छ।

४. संविधान संशोधनका लागि संवाद गर्ने
जनअपेक्षाअनुसार वर्तमान संविधानमा आवश्यक संशोधन गर्न संविधानमा रहेको व्यवस्थाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने निर्णय गरिएको छ।

५. पारित प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी समिति गठन
राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटी परिमार्जनसहित पारित प्रस्तावलाई लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ। समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य तथा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगी रहने निर्णय गरिएको छ।

भेलाले आगामी दिनमा संस्थापनइतर पक्षका गतिविधि पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा अघि बढाउने निर्णयसमेत गरेको छ।