नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभन्ज्याङमा रोकिराखेको बस आफैँ गुडेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीका अनुसार शनिबार बिहान पौने ९ बजे टोखा–छहरे सडकखण्डमा दुर्घटना भएको हो ।
काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ००५२ नम्बरको बस सडक छेउमा रोकिएको थियो । चालक र यात्रुहरू खाजा खान गएका बेला बस आफैँ गुडेर सडकबाट करिब ३०/४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बसले सडकछेउमा रोकिराखेको बागमती प्रदेश ०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई समेत ठक्कर दिएको थियो । भ्यान पनि बससँगै सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ ।
घाइते हुनेमा लालबन्दी–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ–६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन् ।


