चलचित्र ‘यानीमाया’को छायाङ्कन सुरु

+
-

काठमाडौ । नेपाली चलचित्रका चर्चित अभिनेता पल शाहले नयाँ चलचित्र ‘यानीमाया’को छायाङ्कन सुरु गरेका छन्। पल शाहकै निर्माण तथा अभिनय रहने चलचित्रको छायाङ्कन काठमाडौंको गगलफेदीबाट सुरु गरिएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा चलचित्रको छायाङ्कन प्रारम्भ गरिएको देखिन्छ। चलचित्रको निर्देशन ओम प्रतिकले गर्नेछन् भने पल शाह मुख्य भूमिकामा देखिनेछन्।

‘यानीमाया’मा पल शाहसँगै अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, राज थापा, कर्मा लामा र सङ्गीता थापालगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ।

चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गर्नेछन्। निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन करिब ३५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माण पक्षले चलचित्रलाई आगामी फागुन ७ गतेदेखि हलमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। चलचित्रको कथा, प्रस्तुति र पल शाहको भूमिकालाई लिएर दर्शकमाझ चासो बढ्ने अपेक्षा गरिएको छ।