काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीले रोल्पामा भारी वर्षासँगै गएको विनाशकारी पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको प्रेस विज्ञप्तिमा रोल्पाको थवाङ गाउँपालिका–५ उवा कोटलबारा र सुनछहरी गाउँपालिका–२ फलबाङमा गएको पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै गम्भीर दुःख व्यक्त गरिएको छ।
विज्ञप्तिअनुसार थवाङ–५ उवा कोटलबारा गाउँमा पहिरोमा परेका १३ जनामध्ये ११ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना अझै बेपत्ता छन्। त्यस्तै, सुनछहरी–२ फलबाङमा एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता रहेको जनाइएको छ। हालसम्म दुवै घटनामा गरी १२ जनाको शव भेटिएको, पाँच जना बेपत्ता रहेको र दुई जना घाइते भएको पार्टीले जनाएको छ।
पहिरोका कारण घर, गोठ, पसल तथा पशुचौपायासहित ठूलो धनसम्पत्तिमा क्षति पुगेको नेकपाले जनाएको छ।
पार्टीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
खोजी तथा उद्धारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता र स्थानीयवासीप्रति पार्टीले धन्यवाद व्यक्त गरेको छ।
नेकपाले बेपत्ताको खोजी तथा उद्धारलाई तीव्रता दिन, विस्थापितको तत्काल पुनस्र्थापना गर्न र जोखिमयुक्त बस्तीमा थप क्षति हुन नदिन आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ। दीर्घकालीन रूपमा जोखिममा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था गर्नुपर्ने उसको माग छ।
मृतकका परिवारलाई राहत र क्षतिपूर्ति, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र पीडितको पुनस्र्थापनाका लागि आवश्यक सहयोग र पहल गर्न पार्टी प्रतिबद्ध रहेको प्रवक्ता ज्वालाले विज्ञप्तिमार्फत बताएका छन्।


