काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पुरानो पुस्ताले गरेको संघर्ष, योगदान र बलिदानलाई नयाँ पुस्ताले बिर्सन नहुने बताएका छन्।
शुक्रबार कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले राणाकालीन निरंकुश व्यवस्थाविरुद्धको संघर्षदेखि २०४६ सालपछिको लोकतान्त्रिक यात्रासम्म अग्रज पुस्ताले पुर्याएको योगदान स्मरण गर्नुपर्ने बताएका हुन्।
उनले नेपालमा भएका राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अहिले देखिएको निराशालाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए।
देउवाले कांग्रेसकै नेतृत्व र सहभागितामा मुलुकमा विभिन्न राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गर्दै अग्रज पुस्ताले गरेको संघर्ष र बलिदानबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्नेमा जोड दिए।
उनले युवापुस्तालाई विगतको योगदान र संघर्षलाई सम्मान गर्दै त्यसबाट सिकेर पार्टी र मुलुकको भविष्य निर्माणमा अघि बढ्न सुझावसमेत दिएका छन्।
देउवाको भनाइमा, पुस्तान्तरण आवश्यक भए पनि इतिहास र योगदानलाई बिर्सेर अघि बढ्न सकिँदैन। कांग्रेसलाई वर्तमान निराशाको अवस्थाबाट बाहिर निकाल्न सबै पुस्ताबीच सहकार्य र एकता आवश्यक रहेको उनको जोड थियो।


