काठमाडौ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले गगन थापाले गरेको विशेष महाधिवेशन आफूलाई पटक्कै मन नपरेको बताएका छन्।
संस्थापन इतर पक्षले आज काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले गगन थापा आफ्ना भाइ भएको तर उनलाई सभापति भन्न मन नलागेको बताएका हुन्।
‘गगन हाम्रा भाइ हुन्, तर उहाँलाई सभापति भन्न मन लागिरहेको छैन,’ सिटौलाले भने।
थापाप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको स्पष्ट पार्दै उनले सबै कुरा त्यागेर गल्ती सच्याउँदै पार्टी एकतामा आउन आह्वान गरे।
पार्टीबाट शेरबहादुर देउवालाई निकाल्ने विषयलाई ठूलो कुरा ठान्न आवश्यक नरहेको भन्दै सिटौलाले त्यसमा कुनै हीनताबोध लिनुपर्ने अवस्था नरहेको बताए।
उनले भने, ‘आफ्नै मनलाई सोधेर जे गर्न मन लाग्छ, त्यही गर्नुहोस्।’ सिटौलाले सभापति गगन थापालाई एकान्तमा बसेर गम्भीर रूपमा सोच्नसमेत सुझाव दिएका छन्।


