काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै उनकै नेतृत्वमा कांग्रेस अघि बढ्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु आफ्नो कर्तव्य भएको बताए। उनले कांग्रेस एकजुट भएको अवस्थामा कुनै पनि शक्तिले पराजित गर्न नसक्ने धारणा राखे।
कोइरालाले आफ्ना पिता तथा कांग्रेसका नेता बीपी कोइरालाले शेरबहादुर देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको स्मरण गरे। उनले देउवा नै कांग्रेसका नेता र सभापति भएको भन्दै उहाँकै नेतृत्वमा पार्टी अघि बढ्ने बताए।
विदेशमा रहेका देउवा राष्ट्रिय भेलामा सहभागी हुन नेपाल आउनु नै भेलाको ठूलो सफलता भएको कोइरालाको भनाइ थियो। उनले जिल्लाबाट सहभागी हुन आएका कांग्रेसका नेता–कार्यकर्तालाई धन्यवाद दिँदै भेलाको व्यवस्थापनमा केही कमी–कमजोरी भएको भन्दै माफीसमेत मागे।


