दुर्गा प्रसाईंसँग सहकार्य टुटेपछि धवल शम्शेरले दर्ता गरे ‘जय नेपाल पार्टी’

अ+
अ
अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवल शम्शेर राणाले नयाँ राजनीतिक दल दर्ता गरेका छन्।

राणा समर्थकहरूसहित शुक्रबार निर्वाचन आयोग पुगेका थिए। उनले ‘जय नेपाल पार्टी’ नामक नयाँ दल दर्ता गराएका हुन्। पार्टीको चुनाव चिह्न त्रिभुज रहेको बताइएको छ।

केही दिनअघि राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहकार्य गर्दै नयाँ पार्टी गठन गर्ने तयारी गरेका थिए। प्रारम्भिक चरणमा दुवै पक्षबीच पार्टी नेतृत्व र संरचनाबारे सहमति बने पनि पछिल्लो समय उनीहरूबीच मतभेद उत्पन्न भएपछि राणा आफ्नै नेतृत्वमा पार्टी दर्ता प्रक्रियामा अघि बढेका हुन्।

प्रसाईले नयाँ पार्टीमार्फत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा राजसंस्थाको संरक्षणलाई मुख्य मुद्दा बनाउने बताएका थिए। उनले सक्रिय सत्ता राजनीतिभन्दा अभिभावकीय तथा राष्ट्ररक्षक भूमिकासहितको राजसंस्था पुनःस्थापनालाई आफ्नो राजनीतिक अभियानको प्रमुख उद्देश्यका रूपमा अघि सारेपछि कुरा मिल्न सकेकाे थिएन्।

यसअघि राणाले राप्रपाभित्र रहेर राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका थिए। राप्रपाबाट अलगिएपछि उनले आफ्नै राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका थिए।

दुर्गा प्रसाईंसँगको सहकार्य टुटेसँगै राणाले छुट्टै दल गठन गरेका हुन्। प्रसाईंसँगको सहकार्यमा प्रस्तावित संरचनाभन्दा फरक ढंगले अघि बढ्दै उनले शुक्रबार निर्वाचन आयोगमा पुगेर ‘जय नेपाल पार्टी’ दर्ता गराएका हुन्।