कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु, देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने

अ+
अ
अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको छ।

भेलामा आयोजक समिति संयोजक डा. शशांक कोइरालासहित कांग्रेसका वरिष्ठ तथा पुराना नेताहरूको सहभागिता रहेको छ। विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायत नेताहरू भेलामा उपस्थित छन्।

भेलाको उद्घाटन तथा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम तय गरिएको छ। देउवा केही समयअघि उपचारका क्रममा सिंगापुरमा रहेकामा स्वदेश फर्किएपछि पहिलोपटक पार्टीको महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन लागेका हुन्।

भेलाको कार्यतालिका
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे मिराकल पार्टी प्यालेसमा हुने तय गरिएको थियो।

भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा कांग्रेसभित्र देखिएका आन्तरिक विषयमा छलफल हुने बताइएको छ।

आयोजकका अनुसार भेलामा देशभरबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ। भेलाको नेतृत्व तथा सभापतित्व डा. शशांक कोइरालाले गर्नेछन्। देउवाको उपस्थितिले कांग्रेसभित्रको पछिल्लो शक्ति समीकरण र आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ।