अ+
अ
अ-
काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ।
शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
अदालतले श्रेष्ठको घरबाट प्रहरीले बरामद गरेको ल्यापटप तथा जनआस्था साप्ताहिकको कार्यालयबाट लगिएको सीपीयूसमेत अदालतमा ल्याउन आदेश दिएको छ।
श्रेष्ठको पक्षबाट शुक्रबार अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए। श्रेष्ठलाई व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको बताइएको छ।
यसअघि श्रेष्ठलाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।


