देउवाको अपिल : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

अ+
अ
अ-

काठमाडौं । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। उनले नेपाली कांग्रेसको आन्तरिक एकता, युवापुस्ताको भावना, परिवर्तन व्यवस्थापन, लोकतन्त्रको संरक्षण तथा राष्ट्रिय सहमतिका आधारमा मुलुक अघि बढाउन सबै पक्षलाई आह्वान गरेका छन्।

देउवाले स्वास्थ्य उपचारका क्रममा आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता राख्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले आफूलाई ‘विनम्र सेवक’का रूपमा प्रस्तुत गर्दै सुदृढ र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन कृतज्ञताले भरिएको हृदय तथा परिवर्तनका सम्भावनालाई आत्मसात् गर्ने खुला चेतनासहित पाँच महिनापछि नेपाली जनतामाझ फर्किएको बताएका छन्।

उनले आफ्ना अनुभूति र अनुभवका आधारमा विभिन्न विषयमा धारणा सार्वजनिक गरेका छन्।
१. राष्ट्रिय दायित्व र नेपाली कांग्रेसको विरासत
देउवाले साझा राष्ट्रिय दायित्वप्रति गहिरो सम्मान व्यक्त गर्दै आफू फर्किएको बताएका छन्। नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौँको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाउन सफल पार्टी भएको उनको भनाइ छ।

राष्ट्रको स्वतन्त्रता र लोकतन्त्रका लागि नेपाली कांग्रेसले पटक–पटक संघर्ष गरेको उल्लेख गर्दै उनले कांग्रेसको लामो संघर्षपूर्ण यात्रामा विभिन्न कालखण्डमा एउटा यात्रीका रूपमा सहभागी हुन पाएकोमा आफूलाई गर्व लागेको बताए।

‘२०२० सालदेखि निरन्तर राजनीतिक दुःख, सुख र संघर्षपूर्ण दिनहरू अझै पनि मेरो मानसपटलमा ताजा छन्,’ देउवाले भनेका छन्, ‘अहिले मुलुकले उपभोग गरेको स्वतन्त्रता, लोकतन्त्र र विकासमा कहीँ न कहीँ सहभागी हुन पाएकोमा म उच्च गर्व गर्दछु।’

उनले विगतका नेता बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत अग्रजहरूको त्याग र योगदान कहिल्यै भुल्न नहुने बताएका छन्। त्यो विरासत गौरवको पदक नभई जनताको विश्वासका रूपमा आफूहरूले वहन गरिरहेको पवित्र जिम्मेवारी भएको उनको भनाइ छ।

२. युवा पुस्ताको आवाज र परिवर्तन
देउवाले युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै आफूले सुनेको बताएका छन्। नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको उनको दाबी छ।

‘विश्व बदलिएको छ र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गर्छौँ,’ उनले भनेका छन्। समाजका सबै वर्ग, समुदाय र पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्ने काममा आफूले सधैँ नेतृत्व गरेको उल्लेख गर्दै उनले भविष्य राष्ट्र निर्माण गर्ने युवाहरूको हातमा रहेको बताएका छन्।

भौतिक पीडा सहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको देउवाले बताएका छन्।
उनका अनुसार परिवर्तनको अर्थ विगत खराब थियो, अघिल्लो पुस्ताको त्याग, बलिदान र संघर्ष खराब थियो भन्ने होइन। अघिल्लो पुस्ताले लामो समय लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायको अधिकारका लागि लडेको तथा मुलुकमा पद्धति निर्माण गर्न समय खर्चिएको उनले स्मरण गरेका छन्।

विगतका ऐतिहासिक उपलब्धिलाई नकारात्मकता फैलाउने भाष्य कुनै पनि सच्चा नागरिकका लागि स्वीकार्य हुन नसक्ने उनको भनाइ छ। केही कमी–कमजोरी भएका भए त्यसलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो आवश्यक रहेको उनले बताएका छन्।

‘लोकतन्त्रमा सत्ता अस्थायी हुन्छ तर जनताको मन बुझ्ने नेता मात्रै सदा स्मरणीय हुन्छ,’ देउवाले भनेका छन्।

उनले राजनीतिक यथार्थको जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्ने, कुनै बहाना प्रस्तुत नगरी सत्य स्वीकार गर्ने र जनताको इच्छालाई सर्वोच्च मान्दै प्रत्येक जनादेश तथा लोकतन्त्रलाई दिशा दिने प्रत्येक आवाजको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

३. परिवर्तन सजिलो हुँदैन
देउवाले परिवर्तन सजिलो नहुने बताएका छन्। परिवर्तनको बाटो कहिल्यै समतल नहुने र त्यसका लागि धैर्य, साहस र दृढताको परीक्षा लिने उनको भनाइ छ।

‘जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन्।

आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर नहुने उनको चेतावनी छ। ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न नसक्ने उनले बताएका छन्।

देउवाले परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न आफूहरू तयार रहेको पनि बताएका छन्। अन्धाधुन्ध दौडिनुभन्दा विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउने उनको भनाइ छ।

उनले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने र लोकतन्त्रमा जनताको मत तथा आकांक्षालाई सम्मान गर्नुपर्ने बताएका छन्।

४. कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड
देउवाले नेपाली कांग्रेस एकताबद्ध भएर देशका क्रियाशील अन्य राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन्।

सबै मिलेर देशको राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण गर्नुपर्ने उल्लेख गर्दै उनले वर्तमान संविधान नेपालीको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन्। संविधान संशोधन गर्नुपरे पनि राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने उनको धारणा छ।

संसदमा नेपाली कांग्रेसको आकार अंकगणितीय रूपमा सानो–ठूलो भए पनि २००७ सालदेखि नेपाली राजनीतिक परिवर्तनका हरेक खुट्किलोको नेतृत्वकर्ता कांग्रेस रहेको देउवाले बताएका छन्।

कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरुन्त समाधान हुनुपर्ने भन्दै उनले पार्टीमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्ने चेतावनी दिएका छन्।

आम कांग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदाता तथा आम नेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी भएको भन्दै सबैको त्याग, बलिदान र संघर्षलाई स्वीकार गरेर अघि बढ्न उनले अपिल गरेका छन्।

‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ देउवाले भनेका छन्।

युवा साथीहरू अघि बढ्नुपर्ने तर त्यसको अर्थ पाका र अनुभवी सबै खराब हुन् भन्ने गलत भाष्य र सामाजिक सञ्जालमा भ्युजको पछाडि लाग्नु नहुने उनको आग्रह छ। नेपाली कांग्रेसको दायित्व नबिर्सिन उनले आम नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन्।

देउवाले आफूले राजनीतिक रूपमा लिनुपर्ने केही नभए पनि आफ्नो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नुपर्ने र त्यो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको बताएका छन्।

नेपाली कांग्रेसप्रतिको आफ्नो अटुट विश्वास र माया कहिल्यै कम नहुने उनले स्पष्ट पारेका छन्। पार्टीका साथीहरू अहिले निराश भएको अवस्थामा उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एकपटक जोडिनुपर्ने समय आएको उनको भनाइ छ। यस कार्यमा लाग्न उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

नयाँ पुस्तालाई अनुभव हस्तान्तरण गर्ने प्रतिबद्धता
देउवाले विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रम तथा नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको आफ्नो अनुभव रहेको बताएका छन्।

‘मलाई विश्वास छ, त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु,’ उनले भनेका छन्।
उनले आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध रहेको बताएका छन्। कतै विचलित भएको भए सुधार गर्ने र कतै चुकेको भए पुनः उठ्ने उनको प्रतिबद्धता छ।
‘हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ, जसलाई तराईदेखि हिमालसम्मका प्रत्येक नागरिकको सुझाव, अपेक्षा र आकांक्षाले मार्गदर्शन गर्नेछ,’ देउवाले भनेका छन्।

राष्ट्रिय एकता सुदृढ गर्न आह्वान
देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्।

उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने समय आएको उद्घोष गरेको स्मरण गर्दै ४७ वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय राष्ट्रिय एकता मुलुककै आवश्यकता भएको बताएका छन्।

‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ,’ देउवाले भनेका छन्।

उनले यस्तो नेपाल निर्माण गर्न आह्वान गरेका छन्, जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।

सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दै जाँदा विभिन्न आलोचना तथा प्रत्यालोचना हुने गरेको उल्लेख गर्दै उनले आफूले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको बताएका छन्।

‘कानुन र नीति विपरीत कुनै काम गरेको छैन। मेरो जीवन खुला किताब हो,’ उनले भनेका छन्।

जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिकता तथा मूल्य–मान्यताअनुसार काम गर्ने र यी विषयमा कसैसँग सम्झौता नगर्ने देउवाले प्रतिबद्धता व्यक्त गरेका छन्।

अन्त्यमा उनले आफू नेता बनेर नभई महान् राष्ट्रको आजीवन नागरिक बनेर विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको बताएका छन्।
देउवाले आफ्नो सम्बोधनको अन्त्यमा भनेका छन्—‘जय नेपाल।’

शेरबहादुर देउवा
२०८३ साउन २८ गते’
– पुर्णपाठ सहित