काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। उपचारका क्रममा विदेशमा रहेका देउवा करिब साढे पाँच महिनापछि काठमाडौं फर्किन लागेका हुन्। कांग्रेस नेताहरूका अनुसार उनी बिहीबार मध्यान्ह साढे १२ बजे थाई एयरको उडानबाट काठमाडौं अवतरण गर्ने कार्यक्रम छ।
देउवा स्वदेश फर्किएसँगै कांग्रेसभित्रको राजनीतिक गतिविधि थप सक्रिय हुने देखिएको छ। संस्थापन इतर समूहले उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित उपस्थित हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।
कांग्रेस संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाको तयारी पूरा भइसकेको समूहले जनाएको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी भेलाको तयारी गरिएको छ।
सुकेधारास्थित मेराकल पार्टी प्यालेसमा आयोजना हुने भेलामा देशभरबाट कांग्रेसका नेता तथा कार्यकर्तालाई सहभागी हुन आमन्त्रण गरिएको छ। देउवाको स्वदेश फिर्ती र संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई कांग्रेसभित्रको आगामी राजनीति कता जाने हाे भनी हेरिरहेको छ।


