काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा उपसभामुख रुवि कुमारीले जनआस्था डटकमले आफ्नो तस्बिर प्रयोग गरी आपत्तिजनक सामग्री प्रकाशन गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्।
काउन्सिलमा बुझाएको उजुरीमा जनआस्थाको सामाजिक सञ्जाल पेजबाट ‘सुध्रिनुस् म्याम, अझै समय छ’ भन्ने आपत्तिजनक थम्बनेल राखी आफ्नो तस्बिरसमेत प्रयोग गरेर सामग्री प्रकाशन गरिएको उल्लेख छ।
उक्त सामग्रीमा तथ्य, प्रमाण र विश्वसनीय स्रोतबिना भ्रामक तथा आधारहीन विषय प्रस्तुत गरी आफ्नो व्यक्तिगत पदप्रतिष्ठा, चरित्र र सामाजिक मर्यादामा आँच पुर्याउने प्रयास भएको उपसभामुख कुमारीको दाबी छ। त्यसबाट आफ्नो सार्वजनिक प्रतिष्ठामा क्षति पुग्नुका साथै मानसिक तनाव र सामाजिक रूपमा नकारात्मक असर परेको उनले उजुरीमा उल्लेख गरेकी छन्।
उनले पत्रकारिताको नाममा कुनै व्यक्तिको प्रतिष्ठा, चरित्र र सार्वजनिक मर्यादामाथि आधारहीन आरोप, संकेत वा उत्तेजक प्रस्तुति गर्न नहुने भन्दै प्रकाशित सामग्रीका आरोप तथा दाबीको स्रोत, प्रमाण र आधारबारे निष्पक्ष छानबिन गर्न प्रेस काउन्सिलसँग माग गरेकी छन्।


