स्रोत नखुलेको नेपाली र भारतीय नगदसहित एक जना नियन्त्रणमा

अ+
अ
अ-

काठमाडौं । स्रोत नखुलेको नेपाली तथा भारतीय नगदसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरमा स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा कालीमाटी शाखाबाट खटिएको संयुक्त टोलीले फलफूल पसलका सञ्चालक पर्साको छिपहरमाई गाउँपालिका–२ घर भई काठमाडौं कुलेश्वर बस्ने ३३ वर्षीय जितेन्द्र साह तुरहालाई नियन्त्रणमा लिएको हो।

उनको पसल तथा डेरा कोठामा चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार ३ सय रुपैयाँ र भारतीय नगद ३ लाख ४ हजार ३ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको आशंकामा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।