एमाले बागमती संसदीय दलको नेता परिवर्तन गर्न १८ सांसदको पहल

अ+
अ
अ-

काठमाडौ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न सांसदहरू सक्रिय भएका छन्। संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाएर सांसद किरण थापालाई दलकाे नेता बनाउने तयारीस्वरूप १८ जना सांसदले अविश्वास प्रस्तावका लागि हस्ताक्षर गरेका छन्।

थपलिया बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दाबीसहित अघि बढिरहेका बेला एमालेभित्रै संसदीय दलको नेतृत्व परिवर्तनको प्रयास भएको हो। केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा मुख्यमन्त्री चयनबारे छलफल भइरहेका बेला थपलिया अचानक अस्वस्थ भई अस्पतालमा उपचाररत छन्। सोही अवस्थामा उनलाई संसदीय दलको नेताबाट हटाउने प्रक्रिया अघि बढाइएको हो।

पूर्वमन्त्री तथा सांसद किरण थापाका अनुसार गुन्डुमै हस्ताक्षर संकलन गरी प्रतिनिधिमार्फत संसदीय दलको सचिवालयमा दर्ता गराइएको छ।

यससँगै बागमती प्रदेशमा मुख्यमन्त्री चयनसँगै एमाले संसदीय दलको नेतृत्वलाई लिएर आन्तरिक शक्ति संघर्ष थप चर्किएको स्राेतकाे दावी छ।