प्रहरीको पोसाक खरिदमा अनियमितताको आशंका, १५ दिनभित्र विवरण पेस गर्न निर्देशन

अ+
अ
अ-

काठमाडौं । नेपाल प्रहरीको पोसाक तथा अन्य सामग्री खरिद प्रक्रियामा अनियमितताको आशंका भएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सम्बन्धित निकायसँग विवरण माग गरेको छ।

बुधबार बसेको समितिको बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरीका लागि खरिद गरिएका पोसाक र अन्य सामग्रीको सम्पूर्ण विवरण १५ दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको हो।

समितिले खरिद प्रक्रिया, लागत, आपूर्तिकर्ता, सम्झौता तथा भुक्तानीलगायतका विवरण उपलब्ध गराउन भनेको छ।

पछिल्लो समय सुरक्षा निकायका पोसाक तथा सामग्री खरिदमा मूल्य, प्रतिस्पर्धा र ठेक्का प्रक्रियालाई लिएर प्रश्न उठ्दै आएका छन्। निर्वाचन प्रहरीको पोसाक खरिदमा समेत ठूलो रकम अनियमितता भएको आरोपसहित उजुरी परेको विषय सार्वजनिक भएको छ।

गृहमन्त्री सुधन गुरुङले सरकार भ्रष्टाचार नगर्ने र हुन पनि नदिने प्रतिबद्धता व्यक्त गर्दै आएका बेला मन्त्रालयअन्तर्गतका सुरक्षा निकायको पोसाक तथा सामग्री खरिद प्रक्रियामाथि लेखा समितिले छानबिनका लागि विवरण मागेको हो।