२५ वर्षपछि नाफामा नेपाल औषधि लिमिटेड, गत आर्थिक वर्षमा ३ करोड नाफा

अ+
अ
अ-

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा जान सफल भएको छ। सरकारी तथ्याङ्कअनुसार लामो समयदेखि घाटामा रहेको संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा करिब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको हो।

अघिल्लो आर्थिक वर्षमा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको नेपाल औषधि लिमिटेडले एक वर्षमै घाटा घटाउँदै नाफा कमाउन सफल भएको हो।

संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरूका अनुसार उत्पादन र बजारको मागलाई प्राथमिकतामा राखेर औषधि उत्पादन गर्ने रणनीति अपनाइएपछि संस्थाको वित्तीय अवस्था सुधारिएको हो।

पनेरूका अनुसार नेपाल सरकारका विभिन्न निकाय, स्थानीय तह तथा प्रदेश सरकारसँग सरकार–सरकार (G2G) अवधारणाअनुसार समन्वय गरी नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधिको खरिदलाई प्राथमिकता दिने व्यवस्था मिलाइएको छ। यसले संस्थाले उत्पादन गरेका औषधिका लागि बजार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठन (WHO)काे मापदण्डलाई ध्यानमा राख्दै औषधिको उत्पादन तथा मागअनुसार उत्पादनलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

महाप्रबन्धक पनेरूले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थाका रूपमा देशमा औषधिको आवश्यकता बढेका बेला सरकारलाई सहयोग गर्ने गरी संस्थालाई थप सक्षम बनाउने उद्देश्य रहेको बताए। विपद् वा अन्य आपत्कालीन अवस्थामा आवश्यक औषधि उपलब्ध गराउन सक्ने क्षमताको विकासलाई समेत प्राथमिकतामा राखिएको उनको भनाइ छ।

कुनै समय सरकारको प्राथमिकतामा नपरेको नेपाल औषधि लिमिटेडलाई पछिल्लो समय सरकारले पुनः प्राथमिकतामा राखेको छ। संस्थाको उत्पादन क्षमता विस्तार, नयाँ औषधि उत्पादन तथा बजार विस्तारमार्फत संस्थालाई थप मजबुत बनाउने प्रयास भइरहेको छ।

२५ वर्षपछि नाफामा फर्किएको नेपाल औषधि लिमिटेडलाई सरकारले नमूना सरकारी संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको महाप्रबन्धक पनेरूले बताएका छन्।