काठमाडौं — नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको अभाव, महँगी तथा बजार व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै तत्काल सुधारका कदम चाल्न माग गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा जारी केन्द्रीय कार्यसमितिको बैठकले सरकारका पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै चारवटा विषयमा धारणा सार्वजनिक गरेको हो।
कांग्रेसले सरकारले पर्याप्त तयारी र सरोकारवालासँग छलफल नगरी एलपी ग्यासको सिलिन्डरमा पुनः १४.२ किलो ग्यास भर्न निर्देशन दिँदा बजारमा ग्यासको अभाव झन् बढेको आरोप लगाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रभावित भएको अवस्थामा करिब चार महिनाअघि ग्यास अभाव हुन नदिन सिलिन्डरमा ७.१ किलो ग्यास भरेर बजार व्यवस्थापन गरिएको स्मरण गर्दै कांग्रेसले अहिले पूर्वतयारीबिना १४.२ किलो ग्यास भर्ने निर्णय गरिएको जनाएको छ।
ग्यासको आयात दोब्बर बढाउन कूटनीतिक पहल गर्न, पर्याप्त भण्डारण सुनिश्चित गर्न तथा आपूर्ति सञ्जाल व्यवस्थित बनाउन कांग्रेसले सरकारसँग माग गरेको छ। साथै, तदर्थवादी निर्णय बन्द गरी बजारमा खाना पकाउने ग्यासको सहज र निरन्तर आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ।
विद्युत् प्रयोगमा प्रोत्साहन गर्न माग
कांग्रेसले पेट्रोलियम पदार्थको मूल्यमा हुने अन्तर्राष्ट्रिय उतारचढावलाई ध्यानमा राख्दै विगतका सरकारले आन्तरिक विद्युत् खपत बढाउने नीति लिएको जनाएको छ। ग्यासको प्रयोग क्रमशः विस्थापन गर्न इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरणमा सहुलियत दिने व्यवस्था गरिएको भए पनि वर्तमान सरकारले विद्युत् खपतमा विभिन्न शीर्षकमा कर थपेर स्वच्छ ऊर्जाको प्रयोगलाई निरुत्साहित गरेको कांग्रेसको आरोप छ।
ग्यासको विकल्पमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाउन, इन्डक्सन चुलो लगायत विद्युतीय उपकरणमा पुनः सहुलियत दिन तथा ग्यास विस्थापन गर्ने दीर्घकालीन ऊर्जा नीति लागू गर्न कांग्रेसले माग गरेको छ।
मल अभाव र बिचौलियाको अन्त्य गर्न माग
कृषि क्षेत्रमा समेत सरकार असफल भएको कांग्रेसको आरोप छ। मुख्य बाली लगाउने समयमा रासायनिक मलको अभाव हुँदा किसानहरू अनौपचारिक बजारमा महँगो मूल्यमा मल किन्न बाध्य भएको कांग्रेसले जनाएको छ।
मलको खोजीमा भारतीय बजारसम्म पुग्दा कतिपय नेपाली किसानले जेल सजाय भोग्नुपरेको उल्लेख गर्दै कांग्रेसले यस्तो अवस्थाको स्थायी समाधान गर्न सरकारसँग माग गरेको छ।
किसानलाई मुख्य सिजनमै अनुदानको रासायनिक मल सहज रूपमा उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्न तथा साना र मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने ग्यारेन्टी गर्न कांग्रेसले माग गरेको छ।
महँगी नियन्त्रण गर्न सरकारसँग आग्रह
कांग्रेसले वर्तमान सरकार जनजीविकाका वास्तविक समस्या समाधान गर्नुभन्दा सस्तो लोकप्रियता र प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएको छ।
ग्यासको अभाव, विद्युत्मा कर वृद्धि र कमजोर आपूर्ति व्यवस्थापनका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको कांग्रेसको भनाइ छ। यसले आम नागरिकको भान्सा महँगो बनेको भन्दै कांग्रेसले बजारमा अनियन्त्रित मूल्यवृद्धि रोक्न, आपूर्ति व्यवस्था प्रभावकारी र पारदर्शी बनाउन तथा बजार अनुगमन तीव्र पार्न माग गरेको छ।
त्यस्तै, आम नागरिक, किसान, मजदुर तथा विपन्न वर्गको जीविकोपार्जन सहज बनाउने गरी सरकारले ठोस राहतका कार्यक्रम ल्याउनुपर्ने कांग्रेसको माग छ।


