काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निजी क्षेत्रको लगानी बढाउन ठूला उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ।
ठूला उद्योगी तथा व्यापारीहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको हो। उहाँले ठूला करदाता तथा रोजगारदाता कम्पनीहरूले विभिन्न क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले व्यवसायीहरूलाई व्यवसाय विस्तारका क्रममा देखिएका समस्या तथा चुनौतीबारे सरकारलाई सुझाव दिन आग्रह गर्नुभएको थियो। निजी क्षेत्रले भोगिरहेका समस्याको समाधान गर्दै लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ।
अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको सम्भावना रहेका विभिन्न क्षेत्रमा स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूले थप लगानी गर्नुपर्ने बताउनुभयो। उहाँले निजी क्षेत्रको लगानी विस्तारले उत्पादन, रोजगारी र राजस्व वृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभएको छ।
छलफलमा टेलिकम, बैंकिङ, उत्पादन, पेय पदार्थ, सिमेन्ट, पर्यटन तथा हवाई सेवासहित विभिन्न क्षेत्रमा कार्यरत ठूला कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा सूर्यटाेवा नेपाल प्रालि, एनसेल आजियाटा लिमिटेड, आरती प्रालि, गोर्खा ब्रुअरी प्रालि, हिमालय एयरलाइन्स प्रालि, होङ्सी सिमेन्ट, डुवर्श कम्पनी लिमिटेड, डाबर नेपाल प्रालि, बोटलर्स नेपाल तराई, युनिलिभर नेपाल, गोर्खा लाहरी प्रालि, वरुण बेभरेज नेपाल प्रालि तथा भोटेकोसी पावर कम्पनी लिमिटेडलगायत ठूला तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।
अर्थमन्त्री वाग्लेले ती कम्पनीहरूलाई नेपालमा थप लगानी विस्तार गर्न प्रोत्साहित गर्दै सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक सहजीकरण गर्ने आश्वासन दिनुभएको छ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै उत्पादन तथा रोजगारी वृद्धि गर्ने दिशामा अघि बढ्नुपर्नेमा पनि छलफलमा जोड दिइएको थियो।


