अंकित मूल्यभन्दा तल झरेपछि म्युचुअल फन्डमा लगानीकर्ताको आकर्षण बढ्दै

अ+
अ
अ-

काठमाडौं । म्युचुअल फन्डका केही इकाइको मूल्य अंकित मूल्यभन्दा तल झरेपछि पछिल्लो समय यसको कारोबारमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ।

प्राथमिक निष्कासन (आईपीओ)का क्रममा प्रतिइकाइ १० रुपैयाँमा कारोबार हुने म्युचुअल फन्डका इकाइ दोस्रो बजारमा १० रुपैयाँभन्दा कम मूल्यमा कारोबार हुन थालेपछि लगानीकर्ताको चासो बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

म्युचुअल फन्डहरूले विशेषगरी ऋणपत्र, विभिन्न कम्पनीका सेयर तथा अन्य बजारयोग्य उपकरणमा लगानी गर्ने गर्छन्। यस्ता फन्डले आफ्नो लगानीबाट प्राप्त आम्दानीका आधारमा लगानीकर्तालाई लाभांशसमेत वितरण गर्ने गरेका छन्।

यद्यपि, अंकित मूल्यभन्दा कममा कारोबार हुँदैमा म्युचुअल फन्डमा ठूलो लगानी गरिहाल्न नहुने नबिल इन्भेस्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायणले बताएका छन्। म्युचुअल फन्डको मूल्यसँगै त्यसले गरेको लगानी, प्रतिफल, व्यवस्थापन तथा विगतको प्रदर्शनसमेत हेरेर लगानीको निर्णय गर्नुपर्ने उनको भनाइ छ।

शुक्रबारको कारोबारमा अंकित मूल्यभन्दा कममा कारोबार भएका केही म्युचुअल फन्डका इकाइको मूल्य पुनः १० रुपैयाँभन्दा माथि पुगेका उदाहरणसमेत देखिएका छन्।

आर्थिक वर्ष २०८२/८३ मा केही म्युचुअल फन्डहरूले लाभांश वितरण गर्ने तयारी गरिरहेका छन्। अर्कोतर्फ, केही फन्डका इकाइ भने अझै अंकित मूल्यभन्दा कममै कारोबार भइरहेका छन्।