दयाहाङ राई अभिनीत ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक

+
-

काठमाडौ । दयाहाङ राईको मुख्य अभिनय रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर सार्वजनिक भएको छ।

लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई कथाको मुख्य विषय बनाइएको चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन्। चलचित्र आगामी भदौ २६ गतेदेखि देशभरका विभिन्न हलमा प्रदर्शन हुने तयारीमा छ।

चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा छन् भने गौमाया गुरुङ प्रमुख नायिकाको रूपमा प्रस्तुत भएकी छन्। चलचित्रमा डेढ दर्जनभन्दा बढी कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ।

‘पेन्सन पट्टा’मा विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर गुरुङ, सुनिल थापा, लुनिबा तुलाधर, सुरज तामु, राज काउचा मगर, यासिली योख्खा, देवी गुरुङ, प्रतीक्षा गुरुङ, साेल गुरुङ, मनोज गुरुङ, अनुसा राई र कुबिना गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

लाहुरे परिवार र समाजभित्रका सम्बन्ध, संघर्ष तथा मानवीय संवेदनालाई प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको छ। चलचित्रलाई आगामी प्रदर्शनका लागि प्रचारप्रसार गर्ने तयारीसमेत गरिएको छ।