रास्वपाले सुरु गर्दै ‘नागरिक नीति र नेतृत्व कार्यक्रम’, मन्त्रीले प्रत्यक्ष नागरिकका गुनासा सुन्ने

अ+
अ
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा मन्त्रीहरूलाई नागरिकसँग प्रत्यक्ष जोड्ने उद्देश्यले ‘नागरिक नीति र नेतृत्व कार्यक्रम’ सुरु गर्ने भएको छ।

रास्वपा केन्द्रीय कमिटीको बैठकले पारित गरेको निर्णयअनुसार आगामी भदौ महिनादेखि कार्यक्रम सञ्चालन गरिने भएको हो। सहमहामन्त्री असिम साहले हस्ताक्षर गरेको सूचनाअनुसार कार्यक्रमलाई दुई चरणमा सञ्चालन गर्ने तयारी गरिएको छ।

पहिलो चरणमा ‘नागरिक संवाद’ कार्यक्रम हुनेछ। साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा नागरिकका लागि खुला रहने उक्त कार्यक्रममा सम्बन्धित मन्त्रीले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन्।

त्यसपछि दोस्रो चरणमा ‘नेतृत्व संवाद’ सञ्चालन गरिनेछ। साँझ ६ बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझाव तथा गुनासालाई आधार बनाएर देशका समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा चरणबद्ध छलफल गरिने रास्वपाले जनाएको छ।

कार्यक्रममार्फत नागरिकका वास्तविक समस्या र अपेक्षालाई नीतिनिर्माणसँग जोड्ने लक्ष्य रास्वपाले लिएको छ। साझा रणनीति निर्माण, जवाफदेहिता प्रवर्द्धन, यथार्थपरक नीति निर्माण तथा प्रभावकारी समाधानलाई कार्यक्रमको मुख्य उद्देश्यका रूपमा अघि सारिएको छ।

रास्वपाले नागरिकसँग प्रत्यक्ष संवादमार्फत प्राप्त सुझावलाई पार्टीको नीति तथा नेतृत्व तहमा छलफल गरी कार्यान्वयनमा लैजाने प्रयासस्वरूप कार्यक्रम अघि बढाउन लागेको जनाएको छ।