सट्टाबाजी र क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राउ

अ+
अ
अ-

काठमाडौं । सट्टाबाजी गराउने तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका-१० बानेश्वरमा व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा १ एक्स .बी .ई .टी .एप्लिकेसनमार्फत सट्टाबाजी गरी रु. २ लाख ६ हजारभन्दा बढी रकम कारोबार गरेको भेटिएको थियो।

प्रहरीका अनुसार उनीहरूले यु.एस.डि.टी. लगायत अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) ७९ हजार ६८.६५ अर्थात् नेपाली रुपैयाँ करिब २ करोड २० लाख ५१ हजार ६८८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। उनीहरूको साथबाट मोबाइल फोन पाँच थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कपिलवस्तु, बाणगंगा नगरपालिका-६ का हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने ३० वर्षीय नबिन पौडेल, सोही स्थानका १९ वर्षीय राहुल बेलबासे र २८ वर्षीय रविन बेलबासे रहेका छन्।

प्रहरीका अनुसार उनीहरूविरुद्ध सट्टाबाजी तथा अभौतिक मुद्राको कारोबारसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।