लिन इन्टरनेसनल बोर्डिङ स्कुलमा अभिभावकका लागि सचेतनामूलक अभिमुखीकरण कार्यशाला

अ+
अ
अ-

काभ्रेपलान्चोक । लिन इन्टरनेसनल बोर्डिङ स्कुल काभ्रेले अभिभावकहरूका लागि सचेतनामूलक अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको छ।

बनेपामा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब पाँच सय विद्यार्थीका अभिभावकहरूको सहभागिता रहेको थियो। बालबालिकाप्रति अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका, कर्तव्य तथा बालबालिकाको रुचि र स्वभावअनुसार अभिभावकले अपनाउनुपर्ने व्यवहारका विषयमा मनोपरामर्शदाता तथा प्रशिक्षक दीपक बास्कोटाले प्रशिक्षण दिएका थिए।

कार्यक्रमको सुरुवातमा विद्यालयका निर्देशक शिशिर भण्डारीले बालबालिकाको विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताए। सबै कुरा शिक्षक र अभिभावकलाई मात्र थाहा नहुने उल्लेख गर्दै उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अघिल्लो र पछिल्लो पुस्ताबीच देखिएको अन्तरलाई जोड्न यस्ता कार्यक्रमले पुलको काम गर्ने बताए।

करिब दुई घण्टा चलेको प्रशिक्षणमा प्रशिक्षक बास्कोटाले बालबालिकाप्रति अभिभावकले राख्ने अपेक्षा र बालबालिकाले अभिभावकबाट खोज्ने व्यवहारबीच सन्तुलन आवश्यक रहेको बताए। बालबालिकाको स्वभाव, रुचि र क्षमतालाई बुझेर अभिभावकले व्यवहार गर्न सके उनीहरूको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्न सकिने उनको भनाइ थियो।

बालबालिकालाई ‘काँचो माटो’का रूपमा लिएर उनीहरूको क्षमता र रुचिअनुसार सही दिशानिर्देशन गर्नुपर्नेमा जोड दिँदै बास्कोटाले अभिभावकलाई बालबालिकाप्रति जिम्मेवार, मायालु र सद्भावपूर्ण व्यवहार गर्न अभिप्रेरित गरे।

उनका अनुसार घर नै बालबालिकाको पहिलो विद्यालय हो। घरबाटै संस्कार, नैतिकता, अनुशासन र सभ्य आचरण सिक्ने भएकाले बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो

कार्यक्रमको अन्त्यमा विद्यालयका प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावकप्रति धन्यवाद तथा आभार व्यक्त गरे। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्राध्यापक दीपक तामाङले गरेका थिए।